भोजपुरमा सुन्तलाखेती संकटमा: फल झर्ने रोगले बगान नै सखाप हुने डर

भोजपुर। भोजपुरमा सुन्तलाको फल झर्ने रोग फैलिँदै जाँदा किसान ठूलो संकटमा परेका छन्। सुन्तलाका दाना भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक बगैँचा उजाड हुने अवस्था आएको किसानले गुनासो गरेका छन्।

भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान डम्बर बस्नेतका अनुसार पछिल्लो समय सुन्तलामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने र पात बेरिने समस्या देखिएको छ। “फल झर्ने रोगले सुन्तलाखेती संकटमा पारेको छ,” उनले भने, “भेट्नो कुहिएर फल भुइँमा खसिरहेका छन्, यसले किसान चिन्तामा पारेको छ।”

गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछला लगायतका क्षेत्रमा करिब ३०० किसान व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन्। रोगले बगैँचामा ठूलो क्षति पु¥याएपछि किसान उपचारको खोजीमा छन्।

स्थानीय किसान शारदा थापाले गत वर्ष मात्रै १० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरे पनि यस वर्ष उत्पादन झन् ठूलो मात्रामा घट्ने चिन्ता व्यक्त गरिन्। उनको बगैँचामा करिब ७०० बोट सुन्तला भए पनि फल झर्ने रोगले कतिपय बोट खाली भइसकेका छन्। “यो रोग रहिरहे बगान नै सखाप हुन्छ,” उनले चिन्ता व्यक्त गरिन्।

किसान तीर्थ प्रधानका अनुसार भुइँमा खसेका सुन्तलामा किरा नभएको तर भेट्नो कुहिएको पाइएको छ। उनले रोगको पहिचान र समाधानका लागि राज्यलाई तत्काल ध्यान दिन आग्रह गरे।

“रोगको वैज्ञानिक पहिचान भएमा हामी आफैं औषधि हाल्न तयार छौं,” किसानहरूले बताए, “तर राज्यको बेवास्ताले लाखौंको लगानी डुब्ने खतरा बढेको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *