बैतडी । भदौको अन्तिम सातासँगै बैतडीका गाउँबस्तीमा मकै थन्क्याउने चटारो छाएको छ । बिहानैदेखि किसानहरू खेतबारीमा मकै टिप्ने, डोको–नाम्लोमा बोकेर आँगनमा ल्याउने, दाना छुट्याउने र घरघरमा मकैका टव्वा (लुटा) झुन्ड्याउने काममा व्यस्त देखिन्छन् । यसले गाउँको वातावरणलाई थप आकर्षक बनाएको छ ।
“वर्षाले भित्र्याउन नदिने हो कि भन्ने पिर थियो, तर अहिले मौसम साथ दिइरहेको छ । त्यसैले सबै किसान मकै भाँच्ने र टव्वा बनाउन व्यस्त छन्,” सूर्नया–४ का किसान गणेश महराले बताउनुभयो ।
दोगडाकेदार–७ का शैदेव भट्टका अनुसार बैतडीमा मकै भित्र्याउने क्रम असोज दोस्रो सातासम्म चल्ने गर्दछ । यसपटक समयमै पानी परेपछि उत्पादन राम्रो भएको सूर्नया–२ का धन बहादुर बिष्टले बताउनुभयो ।
मेलौली–५ का किसान नरबहादुर चन्दले भने, “मकै हाम्रो दैनिक जीवनसँगै जोडिएको मुख्य आधार हो । बिहान–बेलुकाको खाना, पशुपालन र खर्च धान्न यही खेति हो । मकै थन्क्याउने काम केवल कृषिकर्म मात्र होइन, गाउँको संस्कृतिसँग पनि जोडिएको छ ।”
महिलाले गीत गाउँदै दाना छुट्याउने, युवाले सामूहिक श्रम बाँड्ने र आँगन–आँगनमा सजिएका मकैका लहराले गाउँलाई रंगीन बनाइदिएको उहाले बताउनुभयो ।
तर पछिल्ला वर्षमा किसानलाई जंगली जनावरले चुनौती दिइरहेको छ । दशरथचन्द–२ का धन बहादुर थापाले भन्नुभयो, “बाँदर र बँदेल धपाउन दिनरातै ड्युटी गर्नुपर्छ । मेहनत गरेर उब्जाएको मकै जोगाउनै गाह्रो हुन्छ ।”
नेपालमा धानपछि दोस्रो प्रमुख बालीका रूपमा मकैलाई लिइन्छ । जिल्लाका अधिकांश ठाउँमा मकैखेती हुने गरेको र यस वर्ष गत वर्षको तुलनामा उत्पादन बढ्ने अनुमान रहेको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी महेश पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैतडीको हावा–पानी र माटो मकै खेतीका लागि उपयुक्त भएकाले किसान वर्षेनी यो बालीमा निर्भर हुने गरेका छन् । यसले ग्रामीण जीवनशैलीसँगै संस्कार र श्रमको पहिचानसमेत बोकेको छ ।
कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरि दत्त जोशीले भन्नुभयो, “यस वर्ष वर्षातका कारण केही असर परे पनि उत्पादन राम्रो छ । वन्यजन्तु नियन्त्रण र भण्डारण प्रविधि सुधार गर्न सके किसान अझ लाभान्वित हुनेछन् ।”
हाल बैतडीमा करिब १३ हजार हेक्टरभन्दा बढी जमिनमा मकैखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।