मधेशमा धान रोपाइँ ८६ प्रतिशत पूरा, खडेरीपछि वर्षाले दिलायो राहत

ढल्केबर । लामो खडेरीका कारण प्रभावित धान रोपाइँमा साउनको अन्त्यतिर वर्षाले सहजता ल्याएपछि मधेश प्रदेशभर करिब ८६.३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

धनुषाको हरिहरपुरका किसान मनोज महतोले गत वर्ष असारमै रोपाइँ सकाए पनि यसपालि ढिलो वर्षाका कारण साउन मसान्ततिर मात्रै रोपाइँ सकिएको बताए । त्यस्तै, गणेशमान चारनाथका किसान रामपुकार यादवले खडेरीका कारण बिउ नै सुक्दा रोपाइँमा कठिनाइ भएको बताए ।

कृषि विकास निर्देशनालयका तथ्याङ्कअनुसार पर्सा र बारामा सबैभन्दा बढी ९८ प्रतिशत रोपाइँ भएको छ भने सप्तरीमा सबैभन्दा कम ७५ प्रतिशत मात्र भएको छ । समग्रमा गत वर्षको तुलनामा १० प्रतिशत कम रोपाइँ भएको र यस वर्ष करिब २० प्रतिशत उत्पादन घट्ने अनुमान मन्त्रालयका सचिव डा. उमेश दाहालले बताए ।

यसैबीच, संघीय सरकारले पाँच सय डिप बोरिङ र प्रदेश सरकारले एक हजारभन्दा बढी स्यालो ट्युबवेल जडान गर्ने योजना अघि सारेको छ । यस्तै, सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजनाले मधेशको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *