मनग्ये आम्दानी गर्दै रुपन्देहीका फूल व्यवसायी

रुपन्देही । जहाँ धेरै मानिस बिहान उठ्नेबित्तिकै मोबाइल हेरेर दिनको सुरुवात गर्छन्, त्यही बेला तिलोत्तमाका पुष्प व्यवसायी ईश्वरी भण्डारी भने आफ्ना फूलका बिरुवासँगै व्यस्त रहन्छन्। बिहानैदेखि फूलको स्याहार र व्यवस्थापनमा लाग्ने भण्डारी अहिले सोही व्यवसायबाट मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै खुसी जीवन बाँचिरहेका छन्।

रुपन्देहीको तिलोत्तमामा पछिल्ला वर्षहरूमा फूल व्यवसाय फस्टाउँदै गएको छ। स्थानीय बजारदेखि चाडपर्व र धार्मिक कार्यसम्म फूलको माग बढेपछि किसान र व्यवसायीहरू उत्साहित छन्। नगरभित्र हाल १० भन्दा बढी व्यवसायीहरू पुष्प उत्पादनमा निर्भर छन्।

ग्रीनजोन एग्रो फर्म तिलोत्तमा–२ का भण्डारीले डेढ बिघा जमिनमा विभिन्न किसिमका फूल खेती गर्दै आएका छन्। उहाँका बारीमा वर्षभरि फूल फुल्ने भएकाले निरन्तर आम्दानी भइरहेको छ। उहाँका अनुसार, “फूल फुल्दा त्यसले वातावरण सुन्दर बनाउँछ, र मेहनतको मूल्य पनि त्यही बेला महसुस हुन्छ।”

तिहार नजिकिँदै जाँदा भण्डारीको नर्सरीमा फूल किन्न आउनेहरूको घुइँचो लाग्ने गरेको छ। तर, भारतीय बजारबाट सस्तो मूल्यमा आउने फूलका कारण प्रतिस्पर्धा गर्न कठिन रहेको उहाँको गुनासो छ। “भारत सरकारले किसानलाई अनुदान दिएर सहयोग गर्छ, त्यसैले त्यहाँको फूल सस्तो हुन्छ,” उहाँले बताउनुभयो।

उहाँका साथै तिलोत्तमा–१ का पुष्प व्यवसायी तामनाथ पाण्डे र उनकी श्रीमती चम्पादेवी पाण्डे पनि सफल पुष्प उद्यमी बनेका छन्। उनीहरूले पनि फूल व्यवसायबाट घरखर्च सहजै चलाउन सक्ने आम्दानी गरिरहेका छन्।

चाडपर्व, विवाह, ब्रतबन्ध र पूजाआजाजस्ता अवसरमा फूलको प्रयोग अत्यावश्यक हुने भएकाले रुपन्देहीमा उत्पादित फूलले स्थानीय माग पूरा गर्न सहयोग पुर्‍याइरहेको छ। किसानहरूले फूल खेतीलाई अहिले रोजगारी र आम्दानीको स्थायी स्रोतका रूपमा स्थापित गर्न सफल भएका छन्। गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *