म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा लोभलाग्दो तरकारी खेती

अमृतप्रसाद पौडेल
म्याग्दी । अन्नपूर्ण गाउँपालिका ७ टिकोटका कृषकहरुले गाउँपालिकासँगको सहकार्यमा लोभलाग्दो तरकारी खेती गरेका छन् । अन्नपूर्ण गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक शसर्त कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उक्त क्षेत्रमा तरकारी खेती गरिएको हो । स्थानीय हरिमुलक कृषि तथा पशुपंक्षी कृषक समूहले एक सय ४० रोपनीभन्दा धेरै क्षेत्रफलमा तरकारी खेती गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख श्यामशरण कुर्मीले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका ७ को हिस्तान, मथेनी तथा टिकोट क्षेत्रमा उक्त कार्यक्रम अन्तर्गत कृषकले व्यावसायिक रुपमा बन्दा तथा काउली एवम् आलु खेती गरिरहेको उहाँको भनाइ छ ।

गाउँपालिकाको अनुदान तथा कृषकको सहभागितामा २० लाख ५४ हजार दुई सय २१ रुपियाँ लागतमा उक्त क्षेत्रमा खेती भएको हो । ११ लाख ९९ हजार तीन सय २२ रुपियाँ गाउँपालिकाको र आठ लाख ५४ हजार आठ सय ९८ रुपियाँ कृषक समूहको लगानीमा खेती गरिएको हो । कार्यालयले कृषकका लागि आवश्यक पर्ने सिँचाइ गर्ने सामग्रीमा ८५ प्रतिशत र अन्य सामग्रीमा ५० प्रतिशत अनुदान दिएको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिनुभयो ।

तरकारी पकेट कार्यक्रमअन्तर्गत टिकोटमा सञ्चालित हरिमुल कृषि तथा पशुपंछी कृषक समूहका कृषकहरूलाई तरकारीहरूको बीउ, विषादी, जैविक र प्राङ्गारिक मल सुक्ष्म तत्व, मिनिटिलर, एक हजार लिटर क्षमताको सिँचाइ ड्रम, थोपा सिचाइ सेट, सिड ट्रे, पिटमसलगायतका सामग्री प्रदान गरिएको छ । साथै तरकारी बोक्न प्रयोग गर्ने क्रेट, डिजिटल तराजु, सिँचाइ पाइप, उल १६, स्प्रिङ्कल, स्थायी प्लास्टिक टनेल, स्प्रेयर टुइन वान, हजारी तथा लुज पाइप कृषकलाई हस्तान्तरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख कुर्मीले जानकारी दिनुभयो ।

कृषक समूहका सदस्य बुद्धिवीर पुनका अनुसार कृषक समूहमा स्थानीय २४ परिवार सदस्य छन् । २४ परिवारका झण्डै एक सय हाराहारी जनसङ्ख्या यो कृषि कार्यक्रममा जोडिएर काम गरेको उहाँको भनाइ छ । ‘‘आफ्नो जमिनमा परिवार तथा वरपरका छरछिमेकीहरुको अर्मपर्म गरेरै काम गर्ने गरेका छौं,’’ पुनले भन्नुभयो । हाल बन्दा तथा काउली रोप्ने काम हुँदैछ भने आलु भित्र्याउने काम पनि जारी रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार अहिले पाँच सय ग्रामसम्मका आलु उत्पादन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *