सल्यान । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सल्यानमा प्रभावकारी बन्दै गएको छ । यसले व्यावसायिक पशुपालनमा संलग्न किसानलाई ठूलो राहत दिएको छ । दूध र मासु उत्पादनका हिसाबले कर्णाली प्रदेशकै अग्रणी जिल्ला सल्यान पछिल्लो समय अनुदानका कारण आत्मनिर्भर बन्दै गएको छ ।
कर्णाली प्रदेश सरकारले किसानले बेच्ने प्रत्येक लिटर दूधमा पाँच रुपैयाँ अनुदान दिने नीति ल्याएपछि किसानको आय बढ्नुका साथै आत्मनिर्भरता पनि बढेको छ । यसैगरी जिल्लाका केही स्थानीय तहले दूध र खसीबोका बिक्रीमा थप प्रोत्साहन दिँदै आएका छन् । यस वर्ष मात्रै सल्यानका किसानले दूध बेचेर २३ लाख रुपैयाँभन्दा बढी अनुदान प्राप्त गरेका छन् ।
दार्मा गाउँपालिका–५, त्रिवेणीस्थित ढाकाडाम महिला साना किसान सहकारी संस्थाले मात्र यस वर्ष एक लाख ५० हजार लिटर दूध बिक्री गरेर ११ लाख ७० हजार रुपैयाँ अनुदान पाएको छ । सहकारी अध्यक्ष सुरेन्द्र केसीका अनुसार यसमा प्रदेश सरकारको पाँच रुपैयाँ र गाउँपालिकाको थप तीन रुपैयाँ प्रतिलिटर अनुदान समावेश छ ।
२०७६ सालमा स्थापना भएको चिस्यान केन्द्रले पाँच सयभन्दा बढी किसानलाई दूध बिक्रीमा सहजता दिएको छ । दार्मा गाउँपालिका–५ का किसान रकबहादुर चन्दले सहकारीमार्फत दूध बिक्री निश्चित भएपछि आफूहरू व्यावसायिक भैंसीपालनमा आकर्षित भएको बताए ।
दार्मा गाउँपालिकाले आव २०७८/७९ देखि दूधमा थप तीन रुपैयाँ र खसीबोका बिक्रीमा प्रतिकेजी ५० रुपैयाँ अनुदान दिन थालेपछि किसानको आकर्षण बढेको छ । यस आवमा मात्रै गाउँपालिकाले २.४९ लाख लिटर दूध उत्पादनबापत ७.४८ लाख रुपैयाँ र ३९ हजार ७४२ किलो जिउँदो खसी बिक्रीबापत पाँच लाख २६ हजार रुपैयाँ किसानलाई अनुदान दिएको छ ।
यस्तै, त्रिवेणी गाउँपालिकाले पनि प्रतिकेजी २० रुपैयाँका दरले अनुदान दिँदै आएको छ । गत आव ३०८ कृषकले सय किलो खसी बिक्री गरेर १० लाख ८० हजार रुपैयाँ अनुदान पाएका छन् । गाउँपालिका अध्यक्ष खिमबहादुर रावतका अनुसार यसले उत्पादन बढाउनुका साथै गाउँमै रोजगारी सिर्जना र आत्मनिर्भरता पनि बढाएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय, सल्यानका अनुसार गत वर्ष जिल्लामा १.८ करोड लिटरभन्दा बढी दूध उत्पादन भएको छ, जुन अघिल्लो वर्षभन्दा उल्लेखनीय वृद्धि हो । कार्यालय प्रमुख गोविन्द महतका अनुसार किसानका खातामा २१ लाख रुपैयाँभन्दा बढी अनुदान पठाइएको छ ।
स्थानीय बजारमै बढी खपत हुने दूध दाङ र काठमाडौंमा समेत पठाइने गरेको छ । प्रोत्साहन अनुदानका कारण सल्यान दूध र मासु उत्पादनमा क्रमशः आत्मनिर्भर बन्दै गएको छ ।