ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले तरकारी खेती प्रवर्द्धन तथा बजारीकरण कार्यक्रमअन्तर्गत किसानलाई सतप्रतिशत अनुदानमा बीउ तथा आवश्यक कृषि सामग्री वितरण गरेको छ।
गाउँपालिकाका वडा नं. ३ आङ्खोप र वडा नं. ४ साब्लाखुका किसानलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार तरकारी खेती विस्तार गर्न आलुको बीउसहित विभिन्न तरकारीका बीउ र खेतीमा प्रयोग हुने सामग्री पूर्ण अनुदानमा उपलब्ध गराइएको छ।
आङ्खोपका लसुने, थुङ्रुम्बा र आगेपा टोल विकास संस्था तथा साब्लाखुका बरडाँडा र सिंहदेवी टोल विकास संस्थामा आवद्ध किसानले अनुदान सहयोग प्राप्त गरेका छन्। ती टोल विकास संस्थामा आवद्ध ८० जना किसानलाई तरकारीका बीउ र कृषि उपकरण वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले प्रत्येक टोल विकास संस्थाका १६ जनाका दरले किसानलाई सहयोग उपलब्ध गराएको हो। कार्यक्रमअन्तर्गत ३ हजार ४४० किलोग्राम आलुको बीउ, २०० किलोग्राम लसुन, ७५ किलोग्राम मटरका बीउका साथै किसानको मागअनुसार गोलभेडा (टमाटर), काउली, बन्दा र प्याजका बीउ वितरण गरिएको छ।
त्यस्तै, प्रत्येक किसानलाई तरकारी खेतीका लागि आवश्यक दुईवटा हजारी र एकवटा स्प्रे पनि प्रदान गरिएको गाउँपालिकाले जानकारी दिएको छ।
गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) लगायत जनप्रतिनिधिको उपस्थितिमा बीउ तथा सामग्री वितरण गरिएको थियो। गाउँपालिकाले यस कार्यक्रमले स्थानीय उत्पादन बढाई किसानको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
