सोलुखुम्बुमा लटरम्म फलेका स्याउ हेर्न र किन्न दैनिक भीड

सोलुखुम्बु। सोलुखुम्बुको पर्यटकीय क्षेत्र पत्ताले अहिले स्याउकै रमझममा रंगिएको छ। बगैँचामा हाँगाभरि लटरम्म फलेका रङ्गीन स्याउ देख्न र स्वाद लिन देशभरका घुम्नेमानीहरू पत्ताले पुगिरहेका छन्।

पत्ताले बजारभन्दा केही तल १५१ रोपनी क्षेत्रफलमा फैलिएको स्याउ फार्म अहिले कोशी प्रदेशकै सबैभन्दा ठूलो र लोकप्रिय बगैँचा बनेको छ। चार वर्षअघि स्थानीयको संयुक्त प्रयासमा सुरु गरिएको यो स्याउ खेतीले अहिले उल्लेखनीय आम्दानी दिन थालेपछि ‘स्याउको गाउँ’ भनेर चिनिन थालेको हो।

सोलुदूधकुण्ड नगरपालिका–८ अन्तर्गत पर्ने पत्तालेमा अहिले धमाधम स्याउ बिक्री भइरहेको छ। एभरेस्ट एग्रो रिसर्च एन्ड टुरिजम डेभलपमेन्ट कम्पनीले सञ्चालन गरेको यो फार्म कृषि र पर्यटन दुबै दृष्टिले सफल मानिन्छ। स्याउ किन्ने मात्र होइन, सुन्दर बगैँचा हेर्न र ताजै स्याउको स्वाद लिन आउनेको भीड बढ्दो छ।

शरद ऋतुको खुलेको मौसमसँगै पत्तालेका बगैँचा स्वर्गसरह देखिन्छन्। रङ्गीन र रसिला स्याउले हाँगाभरि ढाकिएका रूखहरूले जोकोहीलाई लोभ्याउने गरेका छन्। यस वर्ष १८ हजार बोट स्याउले एकसाथ फल दिएको छ भने उत्पादन २५ टनभन्दा बढी पुगेको सञ्चालकहरूले बताएका छन्।

“यो वर्ष असाध्यै राम्रो फल लाग्यो, दाना ठूला र मीठा छन्,” फार्म सञ्चालक रामबहादुर मगरले भने, “अब आउने वर्षमा अझ धेरै उत्पादन हुने अपेक्षा छ।” उनका अनुसार एउटै स्याउको तौल ३ सय ग्रामसम्म पुगेको छ।

फार्ममा इटालियन फुजी, रेड डेलिसियससहित १० भन्दा बढी प्रजातिका उच्च घनत्वका स्याउ रोपिएका छन्। सबै बिरुवा इटालीबाट ल्याइएका हुन्। अहिले फार्ममै प्रतिकिलो रु. २५० देखि ३०० मा स्याउ बिक्री भइरहेको छ। “पहिले नै १० टनभन्दा बढी स्याउ बिक्री भइसकेको छ, काठमाडौं र तराईसम्म पठाइरहेका छौं,” अर्का सञ्चालक कर्मा शेर्पाले बताए।

पत्तालेका स्याउलाई बजारको कुनै चिन्ता छैन। विभिन्न रङका रसिला स्याउले उपभोक्ताको स्वाद जितिरहेका छन्। “अरू ठाउँको भन्दा धेरै रसिलो र मीठो लाग्यो यहाँको स्याउ,” धार्मिक गुरु लौरेश्वर बाबाले बताए।

फार्मका दृश्य हेर्न र स्याउ चाख्न अहिले स्थानीयदेखि पर्यटकसम्मको भीड बढेको छ। कतिपय त खासै काम नभए पनि स्याउको स्वाद लिनकै लागि बगैँचा पुग्ने गर्छन्।

पत्तालेको यो स्याउ फार्मले कृषि र पर्यटनलाई जोड्दै सोलुखुम्बुलाई नयाँ पहिचान दिएको छ —
अब सोलुखुम्बु केवल हिमालकै लागि होइन, स्याउको स्वर्गका रूपमा पनि चर्चित बन्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *