स्याउले रंग्यायो बाजुराका बारी, बन्द बाटोले रोक्यो व्यापारी

बाजुरा । बाजुराका पहाडी बारीहरू अहिले मानौँ रातो कार्पेटले ढाकिएका छन् । लटरम्म झुन्डिएका स्याउले गाउँको दृश्य बदलिएको छ । तर किसानको अनुहारमा भने खुसीभन्दा बढी पीडा झल्किएको छ । कारण–बजारसम्म पुग्ने बाटो अवरुद्ध छ ।

मार्तडी–कोल्टी सडक असारदेखि नै बन्द छ । सडक खुल्न नसकेपछि किसानले पसिना बगाएर हुर्काएको स्याउ बारीमै थन्किएको छ । “भदौको पहिलो हप्तादेखि अन्तिमसम्म स्याउ पाकेर सकिन्छ, तर त्यसअघि बेच्न नसके त सडेर जान्छ,” बुढीनन्दा नगरपालिका–७ का किसान मानबहादुर रावतको पीडा हो यो ।

बाजुरामा साना–साना बगैँचादेखि ठूलो बारीसम्म अहिले स्याउले भरिएको छ । बडिमालिका, गौमुल, बुढीगङ्गा, खप्तड छेडेदहलगायतका ठाउँमा थोरै उत्पादन हुने गरे पनि स्वामीकार्तिक खापर, जगनाथ र बुढीनन्दा क्षेत्रमा भने राम्रो मात्रामा स्याउ फल्ने गर्छ । यहाँका किसानले स्थानीय जातसँगै गोल्डेन गाभा, डेलिसियस, फुजी र गाला जातका स्याउ पनि लगाउन थालेपछि उत्पादन झन् बढेको छ ।

तर उत्पादनसँगै समस्या पनि बढेको छ । सडक बन्द हुँदा स्याउ बजार पुग्दैन, बजार नपुग्दा किसानलाई मूल्य पाइँदैन । “स्याउ पाक्यो, बाटो बन्द भयो” भन्ने उनीहरूको गुनासो प्रत्येक वर्ष दोहोरिन्छ ।

गत आर्थिक वर्षमा सडक अवरुद्ध हुँदा कृषि ज्ञान केन्द्रले खच्चडमार्फत ढुवानी गर्न अनुदानको व्यवस्था गरेको थियो । तर यस वर्ष त्यस्तो पहल भएको छैन । अहिले करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ र गत वर्ष मात्र एक हजार २० मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ ।

यसअघि लोकल स्याउ मात्र उत्पादन हुने बाजुरामा अहिले आधुनिक जातको स्वाद फैलिएको छ । तर स्याउको मिठास बजारसम्म पुग्न अझै बाटोले साथ दिएको छैन । भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाका अनुसार वर्षायाममा लगातार पानी पर्नाले डोजर लगाएर बाटो खोल्ने प्रयास पनि निष्फल बन्दै गएको छ ।

स्याउले रंग्याएको बारी अहिले किसानको गर्व होइन, चिन्ता बनेको छ । रातो स्याउ जति चम्किलो छ, किसानको आश त्यति नै धमिलो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *