पोखरा। कास्कीको पोखरा महानगरपालिकामा यस वर्ष करिब १० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको अनुमान गरिएको छ। क्षेत्रफलका हिसाबले देशकै ठुलो महानगर पोखरामा सुन्तला उत्पादनमा वडा नम्बर २१ को योगदान सबैभन्दा बढी रहेको छ। यही वडाको हर्राबोट क्षेत्रमा करिब पाँच करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने भएकाले बिहीबार त्यहाँ सुन्तला महोत्सव आयोजना गरिएको हो।
वडा कार्यालयको पहलमा वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजन मा आयोजित महोत्सव ‘नेपालीको राष्ट्रिय फल सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग’ भन्ने नाराका साथ सम्पन्न भइरहेको छ।
महोत्सवको उद्घाटन महानगर प्रमुख धनराज आचार्य ले गरे। उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले किसानको सम्मान र स्थानीय उत्पादनको प्रवर्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
“किसानलाई सम्मान गर्दै स्थानीय उत्पादनलाई बढावा दिन महोत्सव फलदायी सावित भएको छ,” उनले भने , “अर्गानिक सुन्तलाको प्रवर्धनले महानगरलाई फलफूल र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा समेत सहयोग पुर्याउँछ।”
महानगरपालिकाको ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अन्तर्गत सुन्तला पकेट क्षेत्रका रूपमा स्थापित वडा नम्बर २१ मा पहिलोपटक सुन्तला महोत्सव आयोजना गरिएको हो। पोखरा महानगरका वडा नम्बर २१, २२, १६, २३, २८ र ३३ मा सुन्तला उत्पादन हुँदै आएको छ।
महोत्सवमा किसानले आफ्नै बगैँचामा उत्पादन गरेका अर्गानिक सुन्तला प्रत्यक्ष बिक्रीका लागि राखेका छन्। आयोजकका अनुसार महोत्सव अवधिभर करिब पाँच करोड रुपैयाँ बराबरको सुन्तला बिक्री हुने अपेक्षा गरिएको छ। वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुवेदी ले सुन्तला खेतीले वडाका किसानको आर्थिक अवस्था र जीवनस्तर उकास्न ठुलो योगदान दिएको बताए ।
यसैगरी महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया ले सुन्तला ग्रेडिङ, सुन्तला खाने प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमले किसानलाई उत्साह थप्नुका साथै पर्यटन प्रवर्धनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । महोत्सवमा गुणस्तर र ग्रेडिङका आधारमा प्रतिकेजी ५० देखि १०० रुपैयाँसम्म मूल्य निर्धारण गरी सुन्तला बिक्री भइरहेको छ।
सुन्तला बिक्री गर्ने किसानलाई महानगरपालिकाबाट प्रतिकेजी १० रुपैयाँ प्रोत्साहन रकम समेत उपलब्ध गराइने कडरियाले जानकारी दिए।
महोत्सवमा सुन्तलासँगै स्थानीय फलफूल, तरकारी तथा अन्य कृषि उपजको प्रदर्शन र बिक्री पनि भइरहेको छ।
