मोहनसिंह बुढा
हुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिकाका सात जना किसानलाई चौरी गाई वितरण गरिएको छ । गाउँपालिकाको पशु सेवा शाखाको आर्थिक सहयोगमा सो किसानलाई १४ वटा चौरी गाई वितरण गरिएको हो ।
शनिबार बिहान सिमकोट गाउँपालिका–८ का ७ जना किसानलाई प्रति कृषक २।२ वटाका दरले चौरी गाई वितरण गरेको पशु शाखा प्रमुख विष्णु वुमिल बताउनुभयो । किसानलाई वितरण गरिएका चौरी गाई उत्तरी नाम्खा गाउँपालिका–३ को लुयटा भन्ने खर्कमा पशु पालक कृषक रहेकै ठाउँमा पुगेर वितरण गरिएको हो ।
चौरी पाउने कृषकमा सिमकोट–८ स्याडा गाउँका मानबहादुर बुढा, बिरबहादुर बुढा, भक्तविर दमाइ, भैबहादुर बुढा, रत्न बुढा, देवबहादुर बोहोरा र जनक बहादुर शाही हुनुहुन्छ । सिमकोट गाउँपालिका पशु शाखाको आयोजनामा किसानलाई चौरी गाई वितरण गर्नु अघि चौरी गाइ प्राप्त गर्ने किसानलाई दुई दिने तालिम समेत दिएको थियो । उक्त तालिममा किसानहरुलाई चौरी गाई पाल्ने तरिका, औषधी उपचार गर्ने विधि, के कसरी दानापानी घाँसको व्यवस्थापन गर्ने, के कस्तो पोषण युक्त खाने कुरा खुवाउने जस्ता विषयमा तालिम दिएको प्राविधिक वुमीको भनाइ छ ।
याक प्रवर्धनका लागि उक्त याक वितरण गरिएको र हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–८ मा याक पालनका लागि राम्रो वातावरण भएको र सो वडालाई पशुपालनका क्षेत्रमा आत्म निरभर बनाउनका लागि पनि उक्त याक वितरण गरिएको सिमकोट गाउँपालिकका प्रमुख प्रशासकिय अधिकृत वर्षबहादुर फडेराले बताउनुभयो । किसान चौरी दिनु अघि तालिम दिएर गाउँपालिकाले उहाँहरुलाई अनुदान स्वरुप वितरण गरिएको हो ।