हुम्लामा कोदो खेतीको आकर्षण बढ्दो, उत्पादन र आम्दानी दुबैमा वृद्धिः किसान उत्साहित

हुम्ला । हिमाली जिल्ला हुम्लामा हराउँदै गएको कोदो खेतीप्रति किसानको आकर्षण तीव्र रूपमा बढ्न थालेको छ। कोदोको पौष्टिकता, बजार मूल्य र आम्दानीबारे व्यापक जानकारी फैलिँदै जाँदा किसानहरूले परम्परागत धान र मकैभन्दा पनि यसलाई प्राथमिकता दिन थालेका छन्।

सर्केगार्ड गाउँपालिका–३ उनापानीकी किसान जुना फडेरा सात हल जग्गामा कोदो लगाउँदै आएकी छिन्। उत्पादन र आम्दानी दुवै बढ्न थालेपछि उनले यस वर्ष थप एक हल जमिनमा कोदो रोपाइँ गरेकी छिन्। “पहिला आफूले मात्र खाने र अलि–अलि बिक्री गर्ने गर्थेँ, तर गत वर्षदेखि उत्पादनको आधा हिस्सा बजारमै बिक्री गर्छु,” फडेराले भनिन्।

सदरमुकाम सिमकोटमा पनि यस्तै उत्साह देखिन्छ। सिमकोट गाउँपालिका निवासी जसमति रोकाया भन्छिन्, “कोदोको फाइदा बुझिएपछि किसानको आकर्षण बढेको छ। मैले मात्रै एक वर्षमै पाँचदेखि सात क्विन्टलसम्म उत्पादन गर्न थालेकी छु र बिक्रीबाट राम्रै आम्दानी भइरहेको छ।”

कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुडामणी पन्तका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १,०६२ हेक्टर क्षेत्रफलमा १,१२५ मेट्रिक टन कोदो उत्पादन भएको छ। यो अघिल्लो वर्षको १,१२३ मेट्रिक टनभन्दा उच्च हो। “यस वर्ष ३० हेक्टर थप जमिनमा कोदो लगाइएको छ। उत्पादकत्व पनि प्रतिहेक्टर १.५९ मेट्रिक टनमा पुगेको छ, जुन क्रमशः वृद्धि हुँदैछ,” पन्तले बताए।

उनका अनुसार धान रोप्ने जमिनलाई प्राथमिकता दिँदा सिँचाइको कमी र आकाशे पानीको भरमा खेती गर्नुपर्दा उत्पादन अझ बढ्न सकेको छैन। “यदि किसानले उचित सिँचाइ र सिफारिस गरिएको मात्रामा मलखाद प्रयोग गर्न सके, हुम्लाको कोदो उत्पादन दोब्बर हुने सम्भावना छ,” उनले जोड दिए।

स्थानीय किसानहरूका अनुसार, हाल जिल्लाबाहिर हुम्लाको प्राङ्गारिक मल प्रयोग गरिएको कोदोको माग बढ्दो क्रममा छ। बाहिरी बजारमा मूल्य राम्रो पाइएपछि किसानहरू यसलाई आम्दानीको भरपर्दो स्रोतका रूपमा हेर्न थालेका छन्।

कोदो खेतीको पुनरुत्थानले हुम्लाका किसानलाई आर्थिक रूपमा सबल बनाउँदै, परम्परागत अन्न उत्पादनलाई नयाँ उचाइमा पुर्‍याउने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *