धनगढी । कैलालीको लम्कीचुहा–७ स्थित एक पोल्ट्री फार्ममा विद्युत आपूर्ति कम भएपछि १२ हजार कुखुरा मरेका छन्। दुर्गा बोहराले सञ्चालन गर्ने यस फार्ममा अण्डा दिने कुखुराहरूको मृत्यु भएपछि करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ।
फार्म सञ्चालक बोहराले विद्युत आपूर्तिमा समस्या आएको गुनासो गरेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले फार्मको निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा मुख्यमन्त्री शाहले कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र नेपाल विद्युत प्राधिकरण, टीकापुर शाखाका प्रमुखलाई विद्युत आपूर्ति प्रभावकारी बनाउन आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ।
फार्ममा भएको यस क्षति घटनाले विद्युत आपूर्ति अव्यवस्थाले कृषि व्यवसायमा गम्भीर प्रभाव पार्न सक्ने चेतावनी पनि दिएको छ।