कञ्चनपुर । वैदेशिक रोजगारीको सपना छोडेर स्वदेशमै भैँसीपालनमा जुटेका कञ्चनपुर भीमदत्त नगरपालिका–१५ का जगदिशप्रसाद पाण्डेय महिनामा करिब एक लाख रुपैयाँ आम्दानी गर्दैछन्।
२०७६ सालमा बुबाको निधनपछि दुबई रोजगारीको योजना बनाएका पाण्डेयले टिकटसमेत कटाइसकेका थिए। तर, कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेश जाने सपना अधुरै रह्यो। रोजगारी गुमेपछि उनले रु ३० हजारमा एउटा गाई खरिद गरी दूध व्यवसाय सुरु गरे। माग बढ्दै गएपछि छ महिनामै दोस्रो गाई थपे।
गाईको दूधभन्दा भैँसीको दूधको माग बढी देखिएपछि उनले व्यावसायिक रूपमा भैँसीपालन सुरु गरे। सुरुवातमा तीन भैँसीबाट सुरु भएको फार्म अहिले ३२ भैँसीसम्म विस्तार भएको छ। दैनिक दुई पटक दूध दिने पाँच र एक पटक दूध दिने सात भैँसीबाट हाल दैनिक ४० लिटर दूध बिक्री हुन्छ। गाउँमै प्रतिलिटर रु ९० का दरले दूध बिक्री गरेर मात्रै वार्षिक झण्डै रु १२ लाख आम्दानी भइरहेको पाण्डेय बताउँछन्।
दूधसँगै गोबर मल र पाडापाडी बिक्री गरेर थप रु ४ लाखसम्म आम्दानी हुने हुँदा कुल वार्षिक आय करिब रु १६ लाख पुगेको छ। फार्म सञ्चालनका लागि हालसम्म करिब रु ६५ लाख लगानी गरिसकिएका पाण्डेयले आफ्नै एक बिघा जग्गामा फार्म र पाँच बिघा जमिन भाडामा लिएर घाँस र अन्न उत्पादन गर्दै आएका छन्।
पाण्डेयको व्यवसायले तीन जनालाई रोजगारी समेत दिएको छ। श्रीमती सरस्वती पाण्डेय पनि खेतीपाती र दूध बिक्रीमा साथ दिँदै आएकी छन्। “छोराछोरीको पढाइदेखि घरखर्च सबै यही आम्दानीले चलिरहेको छ,” पाण्डेयले बताए। उनका छोरा सिभिल इन्जिनियरिङ र छोरी एमबीबीएस अध्ययनरत छन्।
विदेशको तुलनामा आफ्नै देशमा परिश्रम गरेर सफलता पाए खुशी लागेको पाण्डेयको भनाइ छ। तर, वास्तविक किसानलाई सरकारी स्तरबाट पर्याप्त सहयोग नभएको गुनासो गर्दै उनले स्वदेशमै व्यवसाय गर्न चाहने युवालाई राज्यले प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याए।