मधेसमा वर्षापछि रोपाइँले फड्को, ७२% धान खेत भिजे

जनकपुरधाम । पछिल्लो एक हप्तादेखिको लगातार वर्षाले मधेस प्रदेशको धान रोपाइँको गति तीव्र भएको छ। पानी पर्याप्त भएपछि शुक्रबारसम्म ७२ प्रतिशत धान रोपाइँ पूरा भएको मधेस प्रदेश कृषि निर्देशनालयले जनाएको छ।

यस वर्ष ढिलो वर्षा र पर्याप्त सिँचाइ अभावका कारण धान रोपाइँ सुस्त भएको थियो, जसले उत्पादन करिब २० प्रतिशत घट्ने अनुमान निर्देशनालयले गरेको छ। “सिँचाइ तथा आकाशे पानीको कमीले धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटमा रोपाइँ गत वर्षभन्दा कम थियो, तर हालको वर्षापछि पुनः गति लिएको छ,” वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले बताए।

बारा र पर्सामा भने रोपाइँ शतप्रतिशत पूरा भएको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालय (गण्डक) का सूचना अधिकारी सुरेश साहका अनुसार किसानलाई नहरबाट आवश्यक पानी उपलब्ध गराउन नियमित अनुगमन भइरहेको छ।

यसैबीच, मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपछि कृषि ज्ञान केन्द्रको कार्यालयमार्फत किसानलाई खेती प्रयोजनका लागि स्यालो टयुबवेल वितरण सुरु गरिएको छ। निर्देशनालयका अनुसार मधेस प्रदेशमा वार्षिक रूपमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *