बाँकेका किसानको बलौटे खेतमा बदामको खेतीले बढायो आम्दानी र आशा

बाँके । बाँकेको डुडुवा गाउँपालिका–६, हिरमिनियाका विष्णुप्रसाद बर्मा वर्षौंदेखि बलौटे माटोमा बदाम खेती गर्दै आउनु भएको छ । अन्य बाली नफल्ने जमिनमा बदाम खेतीबाट मनग्य आम्दानी गर्दै आएका बर्मा भन्छन्, “धान त नफल्ने माटोमा बदामले हाम्रो घर चलाउने आधार बनाएको छ ।”

डुडुवाका अर्का किसान कमला प्रसाद मौर्य पनि सात कठ्ठा खेतमा हरेक वर्ष बदाम खेती गर्छन् । उनी भन्छन्, “व्यापारी खेतमै आएर नगदमा बदाम किन्छन्, त्यसैले बजारको समस्या छैन ।” यसरी खेतमै नगदमै बिक्री हुने भएकाले बदाम खेती यहाँका किसानका लागि नगदे बालीको विकल्प बनेको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेका अनुसार जिल्लामा अहिले करिब ६५१ हेक्टर क्षेत्रमा बदाम खेती भइरहेको छ, जसबाट वार्षिक करिब ८०५ मेट्रिक टन उत्पादन हुन्छ । खोलाको किनार, बगर र बलौटे जमिनमा यो खेती विशेष फलदायी हुने भएकाले किसानहरू त्यसतर्फ आकर्षित भएका छन् ।

तर, झारपात र किराको समस्या भने अझै चुनौतीका रूपमा रहेको छ । किसानहरू भन्छन्, “यदि राज्यले प्राविधिक सहयोग र बजार पहुँच सुनिश्चित गरिदिए, बदाम खेतीले हाम्रो जीवनस्तर अझै माथि पुर्‍याउँछ।”

बलौटे माटोलाई उपयोग गर्दै नगदे बालीको सम्भावना देखाएका बाँकेका किसान अहिले बदाम खेतीलाई आर्थिक रूपान्तरणको माध्यमका रूपमा हेर्दै छन् — जहाँ माटो सुन बन्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *