बिमा रकम भुक्तानी नगरेको भन्दै जुम्लाका स्याउ किसानद्वारा शिखर इन्स्योरेन्समा तालाबन्दी

नौरते नेपाली

जुम्ला। जुम्लाका स्याउ किसानहरूले शिखर इन्स्योरेन्स कम्पनीको कार्यालय जुम्लामा तालाबन्दी गरेका छन् । बिमा रकम भुक्तानीको माग गर्दै किसानहरूले तालाबन्दी गरेका हुन् ।

आर्थिक वर्ष २०८०-८१ मा स्याउमा रोग, असिना पानी र कीराको कारण ठुलो क्षति भए पनि बिमा कम्पनीले समयमै मूल्याङ्कन नगरेको र क्षतिपूर्ति नदिएको आरोप लगाएका छन् । बिमा दाबीको प्रक्रिया झन्झटिलो बनाइएको, पटक–पटक अनुरोध गर्दा पनि बेवास्ता भएको किसान राज बहादुर खत्रीले बताउनु भयो । कम्पनीको गैरजिम्मेवारीपनाले किसानलाई आर्थिक र मानसिक रूपमा पीडित बनाएको उहाँको भनाइ छ । बिमा कम्पनीको कार्यालयमा गरिएको तालाबन्दीमा दर्जनौँ किसानको सहभागिता रहेको छ ।

कृषकहरूले माग सम्बोधन नभए संयुक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । शिखर इन्स्योरेन्स कम्पनीमा जुम्लाका पाँच हजार तीन सय भन्दा बढी किसानले मौसममा आधारित खडेरी र असिना बिमा गराएका छन् ।

सरकारको ८० प्रतिशत अनुदान र आफ्नो २० प्रतिशत प्रिमियम शुल्क तिरेर बिमा गर्दा खुसी भएका जुम्ली किसान अहिले निराश भएका छन् । जुम्लाका आठै स्थानीय तहको सबै भूभाग स्याउ खेतीका लागि उर्वर भूमि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *