बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिकाले किसानलाई स्याउ पूर्ण रूपमा नपाकेसम्म टिपेर बिक्री नगर्न आग्रह गरेको छ। भदौको अन्त्यतिर मात्र पाक्ने स्याउलाई किसानहरूले समयअगावै काँचै टिपेर बेच्ने गरेको पाइएपछि गुणस्तर र भण्डारण क्षमतामा असर पर्न सक्ने भन्दै यस्तो आग्रह गरिएको हो।
स्याउ उत्पादनका लागि चिनिने यस पालिकामा अहिले बारीमा लटरम्म स्याउ फलिसकेका छन्, तर अझै पकिसकेका छैनन्। गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार, काँचो स्याउ बिक्री गर्दा भविष्यमा बजारको माग र विश्वसनीयता घट्ने जोखिम छ।
हिमाली, स्वामीकार्तिक, जगनाथ, बुढीनन्दा, खप्तडछेडेदह र बुढीगङ्गा नगरपालिकासहित करिब १५० परिवारले स्याउ खेती गरिरहेका छन्। यता गौमूल गाउँपालिकामा पनि समूहगत रूपमा स्याउ खेती सुरु भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा यहाँ १४–१५ सय टन स्याउ उत्पादन भएको थियो, जुन अघिल्लो वर्षको हाराहारीमा छ। गत वर्ष मात्र ५१५ क्विन्टल स्याउ बाहिर बिक्री गरेर किसानहरूले ७०–८० लाख रुपैयाँ आम्दानी गरेका थिए।
बाजुरामा फुजी, गोल्डेन रेड, डेलिसियस र स्थानीय जातका स्याउ उत्कृष्ट रूपमा उत्पादन हुने गरेका छन्। हाल ४१० हेक्टर क्षेत्रमा स्याउ खेती भइरहेको छ, जसमा दुई हेक्टरमा मात्र उत्पादन आइसकेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी न्यौपानेले जानकारी दिए।