स्थानीय फूललाई संरक्षण गर्न प्लास्टिक माला प्रतिबन्ध: दाङका किसानमा नयाँ उत्साह

घोराही । दाङका स्थानीय तहहरूले यस वर्ष तिहारलाई लक्षित गर्दै एक सराहनीय निर्णय गरेका छन् — स्थानीय फूल खेतीलाई प्रोत्साहन गर्न र वातावरण संरक्षणमा योगदान पुर्‍याउन प्लास्टिक तथा रबरजन्य माला बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको छ।

जिल्लाका लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र बबई गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई आयातित प्लास्टिक र कृत्रिम माला प्रयोग नगर्न आग्रह गरेका छन्। स्थानीय तहहरूले यस निर्णयलाई “फूल खेतीको प्रवर्द्धन र हरित दाङको पहल” का रूपमा व्याख्या गरेका छन्।

फूल व्यवसायीहरूका अनुसार, यस कदमले स्थानीय उत्पादनमा भरोसा बढाएको छ र व्यवसायिक फूल खेतीमा संलग्न किसानहरूमा नयाँ ऊर्जा थपेको छ।
घोराही–३, झिङ्गनीका पुष्प व्यवसायी दिपेश ढकाल भन्छन्, “यदि सबै स्थानीय तहले प्रतिबन्ध लागू गरे भने सानो लगानीमा व्यवसाय गरिरहेका किसानहरूलाई ठूलो राहत पुग्नेछ। यसले आम्दानी मात्र होइन, वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउँछ।”

ढकालको भनाइसँगै झिङ्गौरा, घोराही–१४ का लोकेन्द्र रोका मगर पनि सहमत छन्। उनी भन्छन्, “हाम्रो फूलले तिहारको माग धान्न सक्छ, तर बाहिरबाट आउने प्लास्टिक माला नै हाम्रो बजारको चुनौती हो। प्रतिबन्धले स्थानीय उत्पादनलाई बजार दिने राम्रो पहल भएको छ।”

कृषि ज्ञान केन्द्र, दाङका अनुसार यस वर्ष जिल्लामा करिब १५ बिगाहभन्दा बढी क्षेत्रमा सयपत्री, मलमली र अरू मौसमी फूलको व्यावसायिक खेती गरिएको छ। माग बढेसँगै पछिल्ला वर्षहरूमा फूल खेतीतर्फ लगानीकर्ता र कृषक दुवैको आकर्षण बढ्दै गएको केन्द्रले जनाएको छ।

स्थानीय तहहरूको यो निर्णयले केवल फूल खेतीलाई होइन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रको प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। किसानहरूका अनुसार, यदि जिल्लाका सबै दसवटा स्थानीय तहले यस्तो प्रतिबन्ध लागू गरे, दाङ निकट भविष्यमा “फूल उत्पादनमा आत्मनिर्भर जिल्ला” बन्न सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *