विनय कर्ण
सप्तरी । निर्धारित समयभन्दा आगावै मनसुन आएपछि सप्तरीका किसानलाई चैते धानबाली भित्र्याउन समस्या भएको छ । यस वर्ष दुई साता अगाबै मनसुन आएसँगै लगातार भइरहेको वर्षाले चैते धानबाली भित्रयाउन समस्या भएको हो ।
एक सातादेखि खेतमा पाकिसकेको धान भित्र्याउन व्यस्त देखिएका यहाँका किसानहरूलाई वर्षाका कारण धान दौनी गर्न समस्या भएको छ भने खेतमै रहेका धानबाली काटेर घर ल्याउने चुनौती पनि थपिएको छ ।
जेठको अन्तिम सातादेखि असारको दोस्रो सातासम्म चैते धान काटेर घर भित्र्याउने समय भएको र सोही बेला निरन्तर पानी पर्दा खेतमा लगाइएको धान समेत काट्न नपाउँदा चिन्तामा डुवेका छन् रूपनी गाउँपालिका ४ का किसान रामरतन यादव ।
छ कठ्ठा खेतमा चैते धानबाली लगाउनु भएका उहाँलाई यतिबेला पाकिसकेको धान काटेर घर ल्याउने मात्र नभई वर्षामा दौनी कसरी गर्ने भन्ने चिन्ताले सताएको छ ।
“धान काटेर घर लगि घाममा सुकाई दौनी गर्नुपर्छ, लगातार वर्षा भईरहेको बेलामा न धान काट्न सकिन्छ न दौनी गर्न सकिन्छ, यस्तो अवस्थामा उब्जिएको बाली नष्ट हुने डरले पिरोलिरहेको छ,“ यादवले भन्नुभयो ।
रूपनी ४ कै अर्का किसान धनीचन्द मंडल पाँच कठ्ठा खेतमा लगाइएको चैते धानबाली काटेर घर ल्याइ सकेका छन् तर लगातार भइरहेको वर्षाले दौनी गर्न पाएका छैनन् । घाममा नसुकाई धान दौनी गर्न नसकिने भएपछि उब्जाएको बाली नष्ट हुने कि डरले उहाँलाई पनि सताएको छ ।
“प्रतिकुल मौसमका कारण तीन महिनाको मिहनत खेर जान्छ भन्ने चिन्ता भइरहेको छ,” मंडलले भन्नुभयो । मंसिर महिनामा हुने धान भन्दा दोब्बर उब्जनी हुने चैते धान खेती प्रति पछिल्लो समय सप्तरीका किसानहरूको आकर्षण बढ्दै गएपनि मौसमको प्रतिकुलताले चैते धान भित्रयाउन भने सकस भइरहेको उहाँले बताउनुभयो ।
सप्तरीमा यस आर्थिक बर्षमा २ हजार ५ सय हेक्टर जग्गामा चैते धानबाली लगाइएकोले उत्पादकत्व प्रति हेक्टर ४ दश्मलव ७७ का दरले ११ हजार ९ सय २५ मेट्रिकटन धान उत्पादन हुने कृषि ज्ञान केन्द्र सप्तरीले अनुमान गरेको थियो ।
मौसमको प्रतिकुलताले गर्दा चैते धानको उत्पादनमा पाँच प्रतिशतसम्म ह्रास आउन सक्ने कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले जानकारी दिनुभयो । उहाँले अहिलेकै जस्तो लगातार वर्षा भइरहे अनुमान गरिएको भन्दा चैते धानको उत्पादनमा केही ह्रास आउने बताउनुभयो ।
“सप्तरीमा चैते धानको उत्पादन राम्रै छ, निरन्तर पानी परेकोले उब्जिएको धान घर भित्र्याउन किसानलाई गाह्रो भएको हो, अहिले पनि समय छ, वर्षा रोकिएर घाम लागेमा किसानलाई सहज हुने छ र अनुमान गरिए जति नै उत्पादन हुन्छ” राउतले भन्नुभयो ।
सप्तरीको १८ वटा पालिका मध्ये सबैभन्दा बढी चैतै धान उत्पादन छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, विष्णुपुर गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, महदेवा गाउँपालिका, रूपनी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, बाेदेबरसाइन नगरपालिका, खडक नगरपालिका र शम्भुनाथ नगरपालिकामा हुने गरेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।