सुक्खा पछि मल संकट: पर्साका किसानको धान बचाउन अर्को संघर्ष

पर्सा। खडेरीको मार झेलेका पर्साका किसान अहिले मलखादको अभावसँग जुधिरहेका छन्। जिराभवानी गाउँपालिका–५, कुडौलीका अलखदेवप्रसाद थारूले रोपाइँ गरेको महिनौँ भइसके पनि धानमा हाल्नुपर्ने युरिया मल अझै पाएका छैनन्। “पहिले खडेरीले धानको रोपो जोगाउनै मुस्किल भयो, अब मल नपाएर फेरि तनाव छ,” उनी भन्छन्।

युरिया मल छर्ने समय भए पनि यहाँ प्राप्त गर्न कठिन भएको किसानहरूको गुनासो छ। वीरगन्ज–२८ का किसान गेनालाल पटेल भन्छन्, “पानी परेपछि केही आशा पलाएको थियो, तर मल अभावले फेरि समस्या निम्त्यायो।”

कृषि ज्ञान केन्द्र पर्साका अनुसार अत्यधिक मात्रामा मल प्रयोग गर्ने प्रवृत्तिका कारण पनि अभाव देखिएको हो। सरकारी मापदण्डअनुसार प्रतिकट्ठा ३–४ किलो मात्र मल आवश्यक भए पनि धेरै किसानले ८–१० किलोसम्म प्रयोग गर्ने गरेका छन्।

पर्सामा मागअनुसार सरकारी कोटाको मल उपलब्धता करिब ६० प्रतिशत मात्र छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले कोटा अनुसार वितरण गर्ने गरे पनि सीमित मात्राले माग धान्न सकेको छैन। आव २०८१/८२ मा कृषि सामग्री कम्पनीले १० हजार ९४७ मेट्रिक टन मल बिक्री गरेकोमा युरिया ५,३६५ टन, डिएपी ५,१२६ टन र पोटास ४३५ टन रहेको छ। साल्ट ट्रेडिङले सोही अवधिमा २,१७९ टन युरिया, ५५९ टन डिएपी र ७७ टन पोटास वितरण गरेको छ।

अत्यधिक प्रयोग, उखु–सुर्तीजस्ता नगदेबालीमा पनि मलको प्रयोग र वितरण प्रणालीमा देखिएका अनियमितताले समस्या गहिरिएको सरोकारवालाको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मल वितरणमा पारदर्शिता र व्यवस्थित प्रणाली विकास गर्न निर्देशन दिएका छन्। “अनुदानको मल वास्तविक किसानलाई नदिई बिक्री गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइनेछ,” उनले चेतावनी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *