काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिमा केही कमजोरी रहेको स्वीकार गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युरिया आपूर्तिमा समस्या आउनुको मुख्य कारण प्राविधिक तथा मौसमजन्य अवरोध भएको बताए।
उनका अनुसार पहिलो कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हो भने दोस्रो कारण निरन्तरको वर्षाका कारण भारतको कोलकाता बन्दरगाहमा मल अनलोड, ब्यागिङ र रेलमा लोड गर्ने प्रक्रिया सुस्त हुनु हो।
मन्त्री अधिकारीले जानकारी दिएअनुसार हाल तीनवटा जहाजमा लोड गरिएको मल कोलकाता पोर्टमै अड्किएको छ। पोर्टमा भीड घट्न नसक्दा खरिद गरिएको ६० हजार टन युरिया नेपाल भित्रन सकेको छैन।