मधेश प्रदेशका ८ जिल्ला ‘विपद् संकटग्रस्त’ घोषणा

काठमाडौं । संघीय सरकारले मधेस प्रदेशका आठ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्री रमेश लेखकको सिफारिसमा विपद संकटग्रस्त घोषणा भएको हो ।

तीन महिनाका लागि उक्त मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । मधेस प्रदेश सरकारले मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोहीअनुसार संघीय सरकारले मधेशमा ८ जिल्लाई विपद् संकटग्रस्त घोषणा गरेको हो ।

मनसुनमा पनि मधेसमा पानी नपरेपछि सुख्खा भएको, पर्याप्त पानी भरण हुन नसकेको, मुहान सुकेको, पानीको चरम अभावका कारण सिँचाइमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणाको माग गरेको थियो ।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १४ को उपदफा (द)मा संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

गृह मन्त्रालयका अनुसार अहिले मधेसमा कुल क्षेत्रफलको ४६ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको छ । सुख्खाका कारण उत्पादनमा समेत ह्रास आउने भन्दै संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *