किसान महासङ्घको माग : विदेशी मह रोकियोस्, स्वदेशी महलाई प्राथमिकता दिइयोस्

काठमाडौँ। अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह आयात रोक्दै नेपाली मह उत्पादनलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह गरेको छ।

महासङ्घले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ , माहुरीपालक किसानहरूलाई तालिम, प्रशिक्षण र अनुदान दिँदै मह उद्योगको आवश्यक अनुगमनसँगै स्वदेशी मह उत्पादन क्षेत्रको प्रवर्द्धन गर्न सरकारले सक्रिय कदम चालोस्।

विज्ञप्तिमा जनाइएको छ, “कृषिप्रधान देश नेपालमा दुई तिहाइ जनसंख्या कृषि पेशामा आश्रित रहेको र अर्थतन्त्रमा झन्डै एक तिहाइ योगदान गर्ने भएकाले सरकारले गर्ने नीतिगत निर्णयले जनतामा प्रत्यक्ष प्रभाव पार्छ।”

यसैबीच, महासङ्घले काठमाडौं उपत्यकामा पराल ल्याउने क्रममा भँवरलोड/ओभरलोडका कारण ढुवानीमा समस्या आएको र तराईका जिल्लामा प्रहरीले ट्रक छाड्न घूस लिएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ। महासङ्घका अध्यक्ष चित्रबहादुर केसीका अनुसार केही दिनदेखि पराल ढुवानी पूर्ण रूपमा बन्द छ।

अध्यक्ष केसीले भने, “यो देशभर धान-पराल भित्र्याउने र बिक्री वितरण गर्ने समय हो। तराईका किसानहरूले धान-पराल बिक्री गर्नुपर्ने र पहाड तथा काठमाडौँ उपत्यकाका पशुपालक तथा च्याउ उत्पादक किसानहरूले ठूलो मात्रामा पराल खरिद गर्ने समय हो। यसैले ढुवानीमा संलग्न भ्रष्ट प्रहरीमाथि कारबाही गर्न र ढुवानीलाई सहज बनाउने हाम्रो जोडदार माग छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *