चैते धान भित्र्याउने धमाधममा सप्तरीका किसान

सुधा देव

सप्तरी। सप्तरीको किसानलाई चैते धान भित्र्याउन चटारो छ । यहाँका किसान एक हप्ता यता चैते धान भित्र्याउन व्यस्त देखिएका हुन् ।

यसपालि १५ दिन पहिले मनसुन भित्रिएकोले पानीमा धान भित्र्याउन समस्या आउने सम्भावना भएकोले खेतमा पाकिसकेको धान भित्र्याउन किसानहरू हतारिएका हुन् । पानी निरन्तर पर्न थालेपछि पाकिसकेको धान भित्र्याउन सकिन्न कि भन्ने डर कृषकहरूमा छ ।

मौसमी धान असारमा रोपेर मङ्सिरमा काटेपछि खेतमै सुकाएर दौनी गरेर मात्र भित्र्याउने भए पनि अहिले जेठ महिनामा काटेको धान घर लगेर मौसम हेरेर सुकाउनुपर्ने र दौनी गर्नुपर्ने बाध्यता रहेको किसानहरू बताउँछन् ।

फागुन महिनामा धानको बिउ छर्ने, चैतको सुरूमा रोप्ने र जेठ १५ देखि काट्न सुरू हुन्छ । ८० देखि ९० दिनको छोटो समयमा यो धान उत्पादन भएपनि मङ्सिरमा उत्पादन हुने धान भन्दा दोब्बर उत्पादन हुँदै आएको सप्तरीको किसानहरूको भनाइ छ ।

खेतमा धान काट्दै गर्नुभएकी सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामाकी ५० वर्षीया विन्दा देवी मुखियाले भन्नुभयो, “छोटो समयमा दोनब्बर धान उत्पादन भएपनि खर्चिलो छ । बिउ उखेल्नु, खेत जोत्नु, रोप्नु, घाँस उखेल्नुभन्दा महँगो पानी पटाउन लाग्छ । बिजुलीले बोरिङबाट सिँचाइ गर्यो भने कट्ठाको दुई सय र डिजल माध्यमले सिँचाइ गर्यो भने तीन सय लाग्छ ।”

सुख्खा समय भएकोले ४ दिनको फरकमा पानी पटाउनुपर्ने हुन्छ । उत्पादनभन्दा खर्च बढी हुँदै आएकोले सप्तरीमा यो धान उत्पादन गर्ने किसान घट्दै गएको उहाँले बमाउनुभयो । जग्गा धनीले आफैँ खेती गर्दैनन् । हामी जस्ता जग्गा जमिन नभएका विपन्नले ठेक्कामा गर्ने हुनाले जग्गा धनीलाई आधा दिनुपर्दा कृषक मारमा पर्दै आएको उहाँले बताउनुभयो ।

केही नगरेर बस्नुभन्दा गरेको बेस भनेर यो धान उत्पादनलाई निरन्तरता दिएको उहाँको भनाइ छ । सप्तरीको १८ वटा पालिकामध्ये विष्णुपुर गाउँपालिका छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपलिका तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका, रूपनी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, बाेदेबरसाइन नगरपालिका, खडक नगरपालिका र शम्भुनाथ नगरपालिका सहितका स्थानमा यसपालि जिल्लामा २ हजार ५ सय हेक्टर जग्गामा चैते धान लगाइएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *