दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले दाङको गढवा गाउँपालिकामा किसानसँग ६९ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको धान खरिद गर्दै सरकारी धान खरीद कार्यक्रमलाई गति दिएको छ।
कात्तिक २४ देखि २८ गतेसम्म ८० जना किसानबाट कुल २ हजार क्विन्टल धान खरिद गरिएको कम्पनीका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिए । खरिद रकम ६९ लाख २७ हजार ६ सय २० रुपैयाँ पुगेको छ।
जिल्ला प्राथमिक खरिद समितिले तोकेको कोटाअनुसार गढवा गाउँपालिकामा धान खरिद कार्य सकिएपछि आइतबारदेखि लमही नगरपालिकामा धान खरिद थालिएको उनले बताए। पाँच हजार क्विन्टल कोटामध्ये गढवाबाट २ हजार क्विन्टल धान खरीद भइसकेको र अब लमही तथा राप्ती गाउँपालिकाबाट क्रमशः १ हजार ५ सय -१ हजार ५ सय क्विन्टल धान खरिद गरिनेछ।
लमहीमा प्रति किसान अधिकतम १५ क्विन्टल धान खरिद गरिनेछ भने गढवामा प्रति किसान ४० क्विन्टलसम्म खरिद गरिएको थियो। खाद्यले किसानसँग प्रति क्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसाका दरले धान खरिद गरिरहेको छ।
धान बिक्रीका लागि किसानले नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जा, बैंक खातासँग जोडिने चेकको प्रतिलिपि तथा पालिकाको कृषि शाखाबाट सिफारिसपत्र अनिवार्य पेश गर्नुपर्ने सूचना अधिकारी डाँगीले जानकारी दिए ।
गत वर्ष ८ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहे पनि एक हजार ६ सय क्विन्टल मात्र खरिद भएको अवस्थामा यस वर्षको सक्रियता किसानका लागि राहतजस्तै भएको छ।
