गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्से अहिले किबीखेतीका कारण ‘किबी गाउँ’ का रूपमा परिचित बन्दै गएको छ । यहाँका किसानहरूले परम्परागत मकै र कोदो खेतीलाई विस्थापन गर्दै आधुनिक र लाभदायी किबीखेतीलाई रोज्दै आएका छन् ।
त्यसैमध्ये ५६ वर्षीय यमबहादुर थापा यस क्षेत्रका अगुवा किसान मानिन्छन् । उनले विगत ११ वर्षदेखि व्यावसायिक रूपमा किबीखेती गर्दै वार्षिक करिब छ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । थापाले हाल आठ रोपनी जमिनमा एलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो र मोन्टी गरी छवटा प्रजातिका किबी लगाएका छन् ।
जलवायु र भू–संरचनाका हिसाबले भार्से किबीखेतीका लागि अत्यन्त उपयुक्त मानिन्छ । थापाले तीन वर्षमै फल दिन थाल्ने किबीखेतीले उनलाई उत्साहित बनाएको बताउँछन् । अहिले उनको बारीमा १५० वटा किबीका बोट छन्, जसमा एक बोटबाट ५० किलोदेखि एक क्विन्टलसम्म उत्पादन हुन्छ ।
थापाले सुरुवातमा तार, पाइप र खम्बा जडान गर्नका लागि झन्डै आठ लाख रुपैयाँ लगानी गरेका थिए । “यो बहुवर्षीय खेती हो, एकपटक लगाइयो भने ५० वर्षसम्म फल दिन्छ,” उनले भने, “रोग कम लाग्ने भएकाले श्रम र खर्च पनि कम छ ।”
उत्पादित किबी अहिले प्रति किलो रु. २०० देखि ३०० सम्ममा बिक्री हुन्छ । भार्सेको किबी स्थानीय बजारसहित पाल्पा र बुटवलसम्म पुग्छ । थापाले गत वर्षदेखि किबी प्रशोधन गरेर वाइन उत्पादन पनि सुरु गरेका छन्, जसको बजार माग बढ्दो छ । साथै, उनले पाँच वर्षदेखि किबी नर्सरी सञ्चालन गर्दै आएका छन् जहाँ अहिले आठ हजार बिरुवा छन्, जसको मूल्य प्रति बिरुवा रु. १५०–२०० पर्छ ।
सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गर्दै किसानलाई प्राविधिक सहयोग, तालिम, टनेल, नर्सरी र अनुदान उपलब्ध गराउँदै आएको अध्यक्ष टीकाराम पाण्डेले बताए ।
हाल भार्सेमा पाँचवटा किबी समूह गठन भएका छन्, जसमा ८० जना किसान आबद्ध छन् । दशदेखि एक सय ५० बोटसम्म किबी खेती गर्ने यी किसानहरूले अहिले करिब ४० हेक्टर क्षेत्रमा किबी उत्पादन गर्दै आएका छन् ।
किबीका विभिन्न जातमध्ये गोल्डेन र रेड जात सबैभन्दा बढी मूल्यवान् मानिन्छन् । यस वर्ष गोल्डेन किबीले बजारमा विशेष मूल्य पाएको छ ।
स्थानीय किसानहरू भन्छन्, “किबीले हाम्रो गाउँको आर्थिक रूपान्तरण सुरु गरेको छ, अब हामी आत्मनिर्भरतामात्र होइन, निर्यातमुखी कृषक बन्ने लक्ष्यमा छौँ ।”
