गुल्मी । दुई दशकअघि गाउँ छोडेर सदरमुकाममा व्यवसायमा व्यस्त जीवन बिताइरहेका रुपलाल श्रेष्ठ अहिले आफ्नै गाउँ फर्किएर बाँझिएका खेतबारीलाई हरियालीले ढाक्ने अभियानमा छन्। गुल्मीदरबार गाउँपालिका–१, बलिथुमका श्रेष्ठले लामो समयदेखि उपयोगविहीन बनेको आफ्नै ६० रोपनी जग्गामा कागतीको बगैँचा फस्टाउन थालेपछि गाउँमा नयाँ सम्भावनाको कथा लेखिँदैछ।
श्रेष्ठले स्थापना गरेको ‘पुष्पाञ्जली एग्रो फर्म’ मार्फत जंगलजस्तो बनेको पाखोमा कागती खेती विस्तार गर्न थालेका हुन्। प्रारम्भमा परिवार र छरछिमेकीलाई पनि उनको निर्णय अस्वाभाविक लाग्थ्यो—“सहरमा बस्ने मान्छेले फेरि गाउँमा खाल्डा खन्दै!” तर अहिले त्यही खाल्डाबाट हरियो सुवास फैलिएको छ।
गत वर्ष फलफूल खासै राम्रो नआए पनि यस वर्ष बोटहरूमा आकर्षक उत्पादन देखिएको श्रेष्ठले बताए। उनका अनुसार हाल बगैँचाबाट करिब १० क्विन्टल कागती फल्ने अनुमान गरिएको छ। बजार व्यवस्थापनको चुनौती सुरु भए पनि उत्पादनले आत्मविश्वास बढाएको उनले बताए।
श्रेष्ठ भन्छन्, “कागती केवल रहरले फल्दैन, माटो चिन्नुपर्छ, सिँचाइ मिलाउनुपर्छ, रोग नियन्त्रण गर्नुपर्छ, जनशक्ति जुटाउनुपर्छ—यो दिन आउन १५ वर्षको परिश्रम चाहियो।”
बलिथुमका अर्गेला बारीहरू अहिले पुनः उत्पादनशील बन्न थालेका छन्। गाउँका धेरै बारीहरू परदेश र बसाइँसराइका कारण बाँझिँदै गएका बेला श्रेष्ठको यो प्रयास ‘गाउँ फर्किएर गर्ने सम्भावनाको सफल प्रयोग’ बनेको छ।
गुल्मी जिल्लाबाट हरेक वर्ष करिब दुई हजारभन्दा बढी परिवार रोजगारी र जीवनयापनका लागि तराई वा विदेश सरिरहेका छन्। तर रुपलाल श्रेष्ठजस्ता युवाले गाउँ फर्किएर कृषि पेशामा आत्मनिर्भरता र सम्भावना खोजेको उदाहरणले अन्य युवालाई पनि प्रेरित गर्न थालेको छ।
श्रेष्ठको हरियो बगैँचाले अहिले बलिथुमका बाँझा खेतहरूमा नयाँ जीवन भरेको छ, गाउँ छोडिएका धेरैका लागि यो एउटा सन्देश हो, “गाउँमा फर्किएर पनि समृद्धि सम्भव छ।”
