पोष्टराज अधिकारी,
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा बसोबास गर्दै आएका अपांगता भएका ३३ परिवारलाई कृषि व्यवसाय प्रवर्द्धनका लागि पशुपालन र मौरीपालन सामग्री सहयोग गरेको छ। उपमहानगरपालिकाले अपांगता सरोकार केन्द्रसँगको समन्वयमा ती परिवारलाई बाख्रा, बंगुर र मौरीको घार वितरण गरेको हो।
कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत नगर प्रमुख मीनाकुमारी लामाले २६ परिवारलाई बाख्रा, ५ परिवारलाई मौरीको घार र २ परिवारलाई बंगुर वितरण गरेकी हुन्। नगर प्रमुख लामाले सहयोगलाई ‘बिउ पुंजी’को रुपमा लिँदै त्यसको सदुपयोग गर्दै व्यवसाय विस्तारतर्फ लाग्न आग्रह गरिन्।
‘बिउलाई मास्ने होइन, बिस्तार गर्दै लैजानेतर्फ लाग्न जरुरी छ,’ उनले भनिन्, ‘शारीरिक रुपमा अशक्त भए पनि घरमै बसेर दिगो आयआर्जनमा लाग्न सक्नु खुशीको कुरा हो। मिहिनेत गर्नेहरुको लागि उपमहानगरपालिका आफैँ पनि सघाउन तयार छ।’
सहयोग कार्यक्रमअन्तर्गत उपमहानगरले कुल लागतको ५० प्रतिशत व्यहोरेको छ। अनुदान स्वरुप ९६ वटा बाख्रा, २० वटा बंगुर, ११ वटा मौरीको घार र ४ वटा गोठ निर्माणको लागि सामग्री वितरण गरिएको अपांगता सरोकार केन्द्रले जनाएको छ। कार्यक्रमले अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना गर्ने र दिगो आयआर्जनमा टेवा पु¥याउने अपेक्षा गरिएको केन्द्रका अध्यक्ष गणेशचन्द्र दवाडीले बताए।