मोहनसिंह बुढा
हुम्ला । हिमाली जिल्ला हुम्लामा ड्रागन फ्रुट फल्न लाग्न थालेको छ । अत्यधिक जाडो हुने हुम्लामा परीक्षणका लागि तुम्चमा लगाइएको बोटले फल दिन थालेको हो ।
फल्छ कि फल्दैन भनेर परीक्षण गर्न आफूले १ सय ५० बिरुवा रोपेको भए पनि एक सयभन्दा धेरै बोटमा यतिबेला फूल फुलेर फल लागेको अदानचुली –३ का नेत्र फडेराले बताउनुभयो ।
जिल्लाको तराईका रुपमा लिँदैआएको तुम्चमा सोही फल फल्न थालेपछि अब ब्याबसायिक ड्रागन खेतीतर्फ लाग्ने उहाँको भनाइ छ । यतिबेला बोटमा फलेका धेरै फलको व्यावसायिक बिक्री सुरु नभएको भए पनि लगाएको दुई वर्षभित्र फल दिँदा आफूलाई सो खेती गर्न उत्साहित बनाएको छ । जिलामा भनेको ड्रागनको प्रतिकिलो ४ सय देखि ७ सयसम्म मूल्य छ । तर आफूले बिक्री गर्न नगएको बताउनुभयो ।
फल फल्न थालेपछि यस वर्ष एक बिघा जमिनमा लागाइएको ड्रागनलाई पिल्लर हालेर टायरमाथि चढाउने सोचमा रहेको फडेराको भनाइ छ । बोटलाई हाल काठको सहायताले उभ्याइएको भए पनि फल दिइरहेको छ । उहाले भन्नुभयो, “अझै धेरै फल फलाउनका लागि पिल्लरमा राख्नुपर्ने देखिन्छ ।”
फल जिल्लाको तुम्चमा मात्र नभइ मकैमा समेत धेरै जनाले गर्न थालेको अर्का स्थानीय दत्त बुढाले बताउनुभयो । उहाँले आफ्नो बारिमा लगाइएका ड्रागनले समेत यसै बर्षबाट फल दिन थालेको छ । आफूले पनि परीक्षण गर्नकै लागि ५ रोपनी जमिनमा लगाएको ड्रागनले फल दिँदा मन खुसी भएको बताउनुभयो ।
सो फलको खेती यतिबेला जिल्लाको अदानचुली, सलिसल्ला, बाग्रेचौर, घाट, दोमुख, पैमा र कवाडीलगायतका क्षेत्रमा लगाउन सुरु गरिएको छ । हिमाली जिल्लामा पनि फल दिन थालेपछि र यसबाट आम्दानी मनग्य हुने भएकाले खेती गर्न आकर्षण बढेको स्थानीयको बुझाइ छ ।