मनाङ । हिमाली जिल्ला मनाङका किसानहरू अहिले हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन्। छिटो फल दिने, उत्पादन बढाउने र आम्दानी दोब्बर हुने सम्भावनाले गाउँघरभर हाइब्रिड स्याउको लहर चलेको छ।
नासोँ गाउँपालिका–८, ताचेका किसान सोलबहादुर गुरुङ भन्छन्, “रैथाने स्याउमा चार–पाँच वर्ष कुर्नुपर्थ्यो, तर हाइब्रिडले लगाएको वर्षमै फल दिन्छ। आम्दानी बढेको छ, समस्या त सडकको मात्रै हो।”
रैथाने प्रजातिको स्याउ उत्पादन सुरु हुन लामो समय लाग्ने भएकाले किसानहरू अहिले छिटो फल दिने हाइब्रिड प्रजातितर्फ आकर्षित भएका हुन्। गुरुङका अनुसार हाइब्रिड स्याउले नाफा मात्र होइन, बजारको माग पनि सहजै पूरा गर्न सक्छ, तर अव्यवस्थित यातायातले चुनौती थपेको छ।
भदौको दोस्रो सातादेखि मनाङका माथिल्लो क्षेत्र — दानाक्यु, चामे, ताचे लगायत गाउँहरूबाट स्याउ टिपेर बजार पुर्याउने काम सुरु हुन्छ। तर सडक सञ्जाल कमजोर भएकाले धेरै स्याउ फार्ममै कुहिएर नोक्सानी हुने गरेको छ।
कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मीका अनुसार, “अहिले मनाङमा रैथाने प्रजातिको खेती घट्दै गएको छ, प्रायः किसान हाइब्रिड खेतीतर्फ लागेका छन्।” उनले थपे, “हाइब्रिड खेतीले किसानको आय बढाएको छ, तर यातायात र बजार व्यवस्थापन सुधारिएमा विदेशी स्याउको आयात घटाउन सकिन्छ।”
स्थानीयहरूका अनुसार, मनाङको स्याउ बजारसम्म सहज रूपमा पुर्याउन सकिए नेपाली बजारमा विदेशी स्याउको आयात घट्ने मात्र होइन, मूल्य पनि सस्तो हुने सम्भावना छ।
नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म ‘एग्रो मनाङ’ पनि यही जिल्लामा अवस्थित छ। तर सडक समस्या र ढुवानी खर्चका कारण किसानहरूले बजारसम्म स्याउ पुर्याउँदा उत्पादन लागत नै बढ्ने गरेको गुनासो गर्छन्।
हिउँले ढाकिएको मनाङका बगरहरू अहिले हाइब्रिड स्याउका रङ्गीन बगैंचामा परिणत हुँदैछन् — जहाँ किसानको परिश्रम र सम्भावनाको नयाँ कथा फल्न थालेको छ।