गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलार्ई १० हजार अनुदान

गुल्मी । सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईका लागि प्रोत्साहनस्वरुप प्रति गाई रु. १० हजार अनुदान उपलब्ध गराइने भएको हो ।

गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि गाईका बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गरी गाईपालन तथा तिनको संरक्षण कार्यलाई प्रवर्धन गर्ने उद्देश्यले कृषकलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत उक्त योजना ल्याएको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो । पालिकाले सार्वजनिक रुपमा सूचना प्रकाशन गरि आर्थिक वर्ष २०८२/८३ को पशुपन्छी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त प्रोत्सान कार्यक्रम अघि सारेको हो ।

कार्यक्रमबाट लाभ लिनका लागि पालिकाले २०८२ साउन १ गतेदेखि २०८३ असार १५ गतेभित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएमा रु. १० हजार अनुदान उपलब्ध गराउने जानकारी गराएको छ । उक्त रकम प्राप्त गर्नका लागि कृषकले आफुले पालेको कोरेली गाई बाली भएको पालिकामा जानकारी गराउनुपर्ने बताइएको छ ।

अनुदान प्राप्त गर्नका लागि कृषकले पालिकामा निवेदनसहित नागरिकताको प्रतिलिपि, पहिलो पटक ब्याएको व्यहोरा उल्लेख गरिएको कम्तीमा तीन जना छिमेकीको हस्ताक्षर लगायतको मुचुल्का, सम्बन्धित वडा कार्यालयको सिफारिस, माउ र बच्चा देखिने गरी खिचेको तस्बिर उपलब्ध गराउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो । त्यसका अतिरिक्त निवेदकको बैंक खाता भएको चेकको प्रतिलिपि, भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरी दिएको रिपोर्ट अनिवार्य हुनुपर्ने भुसालले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष निर माया तरामुका अनुसार यसरी अनुदान लिनका लागि कृषकले अन्यत्रबाट किनेर ल्याएको गाई नभई अनिवार्य रुपमा आफ्नै गोठमा हुर्काएको गाईको बाच्छी हुनुपर्नेछ । पछिल्लो समयमा गाउँघरमा गाईपालन गर्ने परम्परा विस्तारै लोप हुँदै जान थालेको अवस्थामा जिल्लामा सत्यवती गाउँपालिकाले स्थानीय रैथाने गाईको संरक्षण गर्नका लागि उक्त अभियान सञ्चालन गर्न लागेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *