रुपन्देहीमा चैते धानको उत्पादनमा वद्धि, कृषक क्षेत्र विस्तारमा

सीता काफ्ले
रुपन्देही । रुपन्देहीमा चैते धानको उत्पादनमा वद्धि भएको छ । रुपन्देहीका विभिन्न पालिकाहरुमा लगाईएको चैते धानको उत्पादनमा उल्लेख्य रुपमा वृद्धि भएको किसानहरुको भनाइ छ ।

रुपन्देहीमा यस बर्ष लगाईएको चैते धान भित्र्याइएको । सिँचाइको सुविधा भएको क्षेत्रमा लगाइएको चैते धानको उत्पादनमा उल्लेख्य मात्रामा वृद्धि भएको किसानहरुले जनाएका छन् ।

जिल्लाको सियारी गाउँपालिका र सैनामैनामा लगाइएको चैते धानको उत्पादनमा वृद्धि भएको किसानहरु बताउछन् । रुपन्देहीमा ३० हेक्टर बढीमा चैते धानको खेति गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रुपन्देहीले जनाएको छ ।

पछिल्लो समय चैते धानप्रति किसानहरुको आर्कषण समेत बढेको परियोजना कार्यन्वयन इकाईका प्रमुख नारायण काफ्लेले जानकारी दिनुभयो । विगत केहि वर्ष अगाडिसम्म उत्पादनबारे जानकारी लिने गरी खेती सुरु गरेका किसानहरुले गत वर्षदेखि व्यवसायिक रुपमा खेती गर्न थालेको उहाँको भनाइ छ ।

उहाँले चैते धान प्रति हेक्टर ६ देखि ७ टन फल्ने गरेको बताउनुभयो । उहाँका अनुसार बर्खे धान राम्रो फल्दा पनि प्रति हेक्टर ४ टन सम्म फल्ने गर्दछ । भारतबाट वर्षेनी बढ्दो मात्रामा आयत हुने चामललाई कम गर्नका लागि चैते धान खेतिलाई व्यापक रुपमा विस्तार गर्नु पर्ने उहाँको भनाइ छ । पछिल्लो केहि वर्ष यता सङघीय सरकारअन्तर्गतका कार्यालयले चैते धानलाई सघन खेतीको रुपमा विकास गरेको बताउदै उहाँले यस आर्थिक वर्षदेखि प्रदेश सरकार र स्थानीय सरकारलाई पनि चैते धान खेतीतर्फ किसानलाई आकर्षित गर्ने गरी काम गर्न आग्रह गरेको छ ।

सैनामैना नगरपालिका बैकुण्ठपुरा किसान हिमलाल न्यौपानेले ८ कठ्ठामा चैते धानको खेती गरेको बताउनु भयो । उहाँले सिँचाइको राम्रो व्यवस्था भएका ठाँउमा बर्खे धानभन्दा चैते धानको उत्पादन बढी रहेको बताउनुभयो । उहाँले सरकारले प्रयाप्त मात्रामा सिँचाइको व्यवस्थापन गर्न सके किसानहरु थप आकर्षित हुने बताउनुभयो ।

त्यस्तै सैनामैनाकै अर्का कृषक भुपराज बस्यालले सैनामैनामा २२ जनाको समुहले चैते धानको खेती गरेको बताउनुभयो । २२ जनाको समूहले १० बिगाहमा चैते धान खेति गरिएको र उत्पादनमा पनि वृद्धि आएको बस्यालको भनाइ छ । अहिले १० बिघामा खेति गरेका किसानहरुले अर्को वर्ष सिँचाइको व्यवस्था हुन सके यसलाई ४० देखि ५० बिघामा खेति गर्ने सोँच रहेको उल्लेख गर्नुभयो ।

‘‘उत्पादनका हिसावले पनि राम्रो रहेको चैते धान खेतिको बिस्तारका लागि सरकारले किसानका लागि आबश्यक सिचाईको सुविधा दिन जरुरी छ,’’ बस्यालले भन्नुभयो, ‘‘यसका लागि तीनै तहका सरकारले विउविजन, यान्त्रीकरणदेखि बजारीकरणसम्मको व्यस्थापन गर्न जरुरी छ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *