कपिलबस्तुमा अनुदानको मल हेराफेरी काण्ड: सहकारी सञ्चालक पक्राउ, कृषक आक्रोशित

कपिलबस्तु । अनुदानको मल गायब गरेको आरोपमा कपिलबस्तु प्रहरीले एक सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएको छ। मायादेवी गाउँपालिका–५, बलुहवाका कृषकलाई वितरण गर्न ल्याइएका १९७ बोरा युरिया मल सहकारीबाटै हराएको उजुरीपछि चेतना विकास कृषि सहकारीका सञ्चालक वशिष्ठ पाण्डेय पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार, कृष्णनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट ल्याइएको मल कृषकलाई वितरण नगरी अन्यत्र बिक्री गरिएको आरोप छ। “सामाजिक सञ्जाल र नागरिक गुनासोका आधारमा अनुसन्धान गर्दा मल गायब भएको प्रमाण भेटिएको छ,” भट्टले भने।

स्थानीय कृषकहरूले यसबारे गत साउन ११ गते गाउँपालिकामा निवेदनसमेत दिएका थिए। उनीहरूको आरोप छ, ५० किलोको मलको बोरालाई साढे नौ सयमा बिक्री गर्नुपर्नेमा सहकारी र डिलरहरूले कालोबजारी गर्दै दोब्बर मूल्य असुल्दै आएका छन्।

यसैबीच, जनता समाजवादी पार्टी नेपालले मलको सहज आपूर्ति र कालोबजारी अन्त्यको माग गर्दै तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *