रैथाने बाली जोगाउँदै लमजुङका स्थानीय

लमजुङ। गाउँघरबाट रैथाने जातका बिउ लोप हुन थालेपछि त्यसको संरक्षणमा स्थानीय जागरुक हुन थालेका छन् । उन्नत र वर्णशङ्कर जातका खेती बढे पनि रैथानेको माग बढ्दो भएकाले त्यसको संरक्षणमा किसान जुटेका हुन् । लमजुङको मस्र्याङ्दी गाउँपालिका–२, घनपोखरामा स्थानीयले रैथाने बिउ संरक्षण अभियान सञ्चालन गरिरहेका छन् । घनपोखरा कृषि सहकारी संस्था तथा सामुदायिक बिउ बैङ्कमार्फत स्थानीयले विभिन्न प्रकारका रैथाने जातका कागुनो र धान खेतीको संरक्षण गरेका हुन् ।

सहकारीले नौ प्रकारका जातको कागुनोको संरक्षण खेती गरेको छ भने बरियो जातको कागुनोको बिउ उत्पादन गर्दै आएको छ ।

सहकारीका अध्यक्ष भक्तबहादुर गुरुङका अनुसार एक सयभन्दा बढी रोपनी जमिनमा कागुनो खेती गरिएको छ । उत्पादित कागुनो ब्रान्डिङ गरी लमजुङ र बाहिरी जिल्लामा बिक्रीवितरण हुँदै आएको सहकारीले जनाएको छ ।

कागुनो मात्रै नभई स्थानीयस्तरबाट लोप हुन लागेका २३ प्रकारका रैथाने धान र देशभरबाट लोप हुन लागेका ४० जात गरी ६३ जातको धान खेतीको संरक्षणसमेत गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । २०७३ सालदेखि लिवर्ड नामक गैरसरकारी संस्थाको सहयोगमा रैथाने बालीको संरक्षण सुरु गरिएको उहाँले बताउनुभयो । पछिल्लो समय कृषि ज्ञान केन्द्र लमजुङ र मस्र्याङ्दी गाउँपालिकाले पनि रैथाने बाली संरक्षण र खेतीमा सहयोग गर्दै आएको छ । कृषि ज्ञान केन्द्र लमजुङको सहयोगमा सामुदायिक बिउ बैङ्क भवन निर्माण भएको छ भने यान्त्रिकीकरणमा पनि सहयोग मिलेको छ ।

रैथाने खेती र खानेकुरालाई प्रवर्धन गर्न विद्यार्थीलाई दिवा खाजामा समेत रैथाने परिकार खुवाउने व्यवस्था गरिएको, होमस्टेमा रैथाने परिकार बनाउने तालिम दिइएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *