हेला भइसकेको जंगली झार, बन्दै समृद्धिको आधार: सिस्नु प्रशोधनले गाउँमा आर्थिक क्रान्ति

धनकुटा । पहाडी गाउँमा पोल्ने झारको रूपमा हेला पाइरहेको सिस्नु अहिले धनकुटा र तेह्रथुमका किसानका लागि आम्दानीको सुनौलो स्रोत बनेको छ। “पहिले घाँसपात गर्दा हात पोल्थ्यो, अहिले यही सिस्नुले महिनाको खर्च चल्छ,” तेह्रथुमको लालीगुराँस नगरपालिका–१, चैतेका किसान दीपेन्द्र बस्नेत भन्छन्। उनी दैनिक १५–२० किलो सिस्नु टिपेर सामुदायिक वनले सञ्चालन गरेको प्रशोधन केन्द्रमा बुझाउँछन् र प्रतिकिलो ८० रुपियाँ पाउँछन्।

बस्नेत मात्र होइन, चैते सामुदायिक वन वरपरका धेरै गाउँले अहिले सिस्नु सङ्कलन र खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। करिब ३६५ हेक्टर क्षेत्रफलको सामुदायिक वनमध्ये १० प्रतिशत क्षेत्र सिस्नोले ढाकिएको छ भने गत वर्ष करिब एक हेक्टरमा व्यावसायिक खेती सुरु भएको छ। दैनिक ४०–५० किलो सिस्नु सङ्कलन हुँदै आएको छ, जसबाट ५–६ किलो धुलो उत्पादन गरिन्छ।

उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काका अनुसार हाल उत्पादन भएको सिस्नु धुलो र तीनपाते मुना क्रमशः प्रतिकिलो २ हजार र २ हजार ५ सय रुपियाँमा बिक्री हुँदैछ। प्रदेश सरकारको जडीबुटी विकास कार्यक्रमअन्तर्गत उपलब्ध १० लाख मूल्यको आधुनिक मेसिनले सिस्नु सुकाउने, धुलो बनाउने र प्याकिङ गर्ने काम सहज भएको छ। “अब हामी लेबलिङ पूरा गरेपछि दैनिक ४ सय किलोसम्म उत्पादन पुर्‍याउने लक्ष्यमा छौँ,” खड्का बताउँछन्।

सिस्नुको बजार अब गाउँभन्दा सहरतिर छ। वसन्तपुरमा रहेका होटल व्यवसायीहरूका अनुसार पर्यटकको रोजाइमा सिस्नुको झोल र धुलो बढ्दै गएको छ। प्रोटिन, भिटामिन ए, सी, के, फलाम, क्याल्सियम र म्याग्नेसियमजस्ता पौष्टिक तत्वले भरिपूर्ण भएकाले ठूला होटलदेखि विदेशसम्म यसको माग बढ्दो छ।

सामुदायिक वनमा उपलब्ध सिस्नु अब पर्याप्त नभएपछि खाली सरकारी र निजी जग्गामा समेत खेती विस्तारको पहल गरिएको छ। सामुदायिक वन सदस्य रेणुका खड्का भन्छिन्, “मागको हिसाबले उत्पादन जति गरे पनि घटीँदैन, बजारका लागि चिन्ता छैन।”

कहिल्यै ‘झार’को रूपमा गनिने सिस्नु आज यहाँका किसानको प्रमुख आम्दानीको आधार बन्दै गएको छ। प्रशोधन र लेबलिङको काम पूरा भएपछि यसले पहाडी गाउँको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने स्थानीयको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *