कृषि सहकार्यमा नेपाल–चीन बीच नयाँ पहल : मन्त्री परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम चेन सङबिच शुक्रबार भेटवार्ता भएको छ ।

बैठकमा मन्त्री परियारले नेपाल–चीनबिचको दीर्घकालीन मित्रतालाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आधुनिक, दिगो र जलवायु–मैत्री कृषि प्रणालीको विकास, उत्पादन वृद्धि तथा द्विपक्षीय व्यापार विस्तारका लागि चीनको प्राविधिक, संस्थागत र व्यापारिक सहकार्यलाई नेपालका लागि महत्त्वपूर्ण रहेको बताए । विभिन्न प्रोटोकल, अवधारणा–पत्र तथा सहकार्य संयन्त्रहरूको प्रभावकारी कार्यान्वयनका लागि दुई देशबीच निरन्तर संवाद र साझेदारी आवश्यक रहेको उनको भनाइ छ ।

चिनियाँ राजदूत सङले बैठक अत्यन्तै सकारात्मक वातावरणमा सम्पन्न भएको जानकारी दिए । उनले भविष्यका लागि प्राथमिकतामा रहेका क्षेत्रहरूका रूपमा कृषि पार्क स्थापना, हाइब्रिड धान र आलुका बीउ उत्पादन, उच्च उत्पादन क्षमता भएका मकैका जातहरूको प्रवर्द्धन तथा खाद्य प्रशोधन उद्योग विकासलाई उजागर गरे ।

क्षमता अभिवृद्धि, मिश्रित मल उत्पादन, रोगमुक्त भैँसीको मासुको निर्यात, र कृषि प्रदर्शन पार्क स्थापना जस्ता मुख्य विषयहरूमा केन्द्रित रहेको उक्त बैठकमा दुवै पक्षले नेपालको कृषि क्षेत्र सुदृढ पार्न प्राविधिक सहयोग, लगानी र ज्ञान आदानप्रदानको महत्वमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *