विदेशबाट फर्केर माछापालनमा रमाउँदै भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहनुभएकोे छ । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उहाँ व्यवसायमा सम्लग्न हुनुभएको हो ।

अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा व्यावसायिक रूपमा माछापालन गरिरहेको उहाँले बताउनुभयो । पोखरीमा ६० किलोग्राम ग्रासकार्प माछाको भुरा छाडेको उहाँले जानकारी दिनुभयो । आफ्नै ठाउँमा परिवारसँग बसेर व्यवसाय गर्दा छुट्टै आनन्द भएको किसान तामाङले बताउनुभयो ।

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा पाँच वर्ष बिताएर आफ्नो ठाउँमा त्यहाँको भोगाइ र अनुभवलाई सदुयोग गर्दै माछापालनमा लागेको उहाँले बताउनुभयो । आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषिकर्म गर्न सकेमा स्वदेशमा नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने उहाँले सुनाउनुभयो ।

“धेरै युवामा विदेशप्रति मोह बढेको देखिन्छ, तर विदेशको दुःख त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ । विदेशमा दुःख गर्नुभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्ने सोचका साथ यो व्यवसायमा लागेको छु । त्यहाँको मेहनत यहाँ गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ”, उहाँले भन्नुभयो ।

माछापालनसँगै यहाँ व्यावसायिक कुखुरा र बङ्गुर गर्ने योजनाका साथ काम गरिरहेको उहाँले बताउनुभयो । व्यवसायबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी लिने लक्ष्य रहेको तामाङले बताउनुभयो । पहाडी क्षेत्रका पोखरीबाट उत्पादन भएको माछा बजारमा प्रतिकेजी रु छ सय ५०देखि रु सात सयमा बिक्री हुने उहाँले बताउनुभयो ।

भोजपुर–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार व्यवसायमा लाग्ने युवाहरूलाई लक्षित प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि गाउँघरमा व्यवसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको छ । किसानलाई उनीहरूको व्यावसायिक योजनाका आधारमा वडा तथा नगरपालिकाबाट सहयोगका कार्यक्रम सञ्चालन भइरहको छ । किसानलाई प्रोत्साहन गर्न वडाले विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको छ । उनीहरूका व्यावसायिक योजनाका आधार आवश्यक सहयोग गर्दै आएका छौँ ।

भोजपुर सदरमुकामसँग जोडिएको वडा भएकाले किसानले व्यावसायिक माछापालन, तरकारीखेती तथा नगदेबालीको खेतीबाट मनग्य आम्दानी गर्दै आएको वडाध्यक्ष कार्कीले बताउनुभयो । किसानलाई आयआर्जनमा जोड्न कृषिको क्षेत्रमा वडाले योजनाबद्ध रूपमा काम अघि बढाएको वडाध्यक्ष कार्कीले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *