शङ्कर केसी
सल्यान । सल्यानको एउटै पालिकाबाट तीन करोड २६ लाख बढीको खसी निकासी भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकामा समूह तथा सहकारीमा आबद्ध किसानहरूले एक वर्षमा खसी बिक्री गरेर तीन करोड २६ लाख ४३ हजार ६०३ रुपियाँ हात पारेका हुन् ।
कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत सहकारी मार्फत खसी बोका बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको भन्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले यसबाट किसानहरू बाख्रा पालनतर्फ आकर्षित भएको बताउनुभयो । “किसानहरूले खसी बोका बिक्री गरेर राम्रो आम्दानी गर्दै आई रहनुभएको छ”, उहाँले भन्नुभयो, “व्यापारीहरूले आफूखुसी खसी बोकाको मूल्य निर्धारण गर्दा किसानहरू मारमा पर्ने गरेको गुनासो पनि थियो । सहकारी मार्फत खसी बोकाको बजारीकरण भए देखी किसानहरू खुसी हुनुहुन्छ ।”
त्रिवेणी गाउँपालिकाले आ.व. २०८१-०८२ मा वार्षिक न्यूनतम १०० किलो खसी बिक्री गर्ने ३०८ जना कृषकहरूलाई २० रुपैयाँको दरले १० लाख ८० हजार ९२० रुपियाँ अनुदान दिएको पशु विकास शाखाका प्रमुख वसन्त रावतले जानकारी दिनुभयो । दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीका १२० जना कृषकलाई पाँच लाख २८ हजार २२० रुपियाँ अनुदान प्रदान गरिएको छ । यो सहकारीमा आबद्ध किसानहरूले एक करोड ४६ लाख १६ हजार ७८५ रुपियाँ बराबरको खसी निर्यात गरेका छन् ।
यस्तै नमुना सामाजिक उद्यमी महिला सहकारीबाट ७३ जना कृषकहरूलाई अनुदान बापत दुई लाख ३२ हजार १२० रुपियाँ दिइएको छ भने यो सहकारीबाट ७० लाख ४२ हजार १८४ रुपियाँ बराबरको खसी निर्यात भएका छन् ।
पशु विकास शाखाका अनुसार उपहार सामाजिक उद्यमी महिला सहकारीबाट ६२ जना कृषकहरूलाई एक लाख ८७ हजार ४०० रुपैयाँ अनुदान दिइएको छ भने यो सहकारीबाट ७१ लाख ५२ हजार ४६४ रुपियाँ बराबरका खसी बिक्री भएका छन् । यसै गरी त्रिवेणी पशुपालन व्यवसायी सहकारीबाट ५३ जना कृषकहरूलाई एक लाख ३९ हजार ८३९ रुपियाँ अनुदान दिइएको छ भने ३८ लाख ३२ हजार १७० रुपियाँ बराबरको खसी निर्यात भएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षभन्दा करिब एक करोड रुपियाँ बढीका खसी निर्यात गरेको पशु विकास शाखा प्रमुख रावतले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा त्रिवेणीका किसानहरूले सहकारी मार्फत दुई करोड ३६ लाख ३० हजार ६२९ रूपियाँको खसी बिक्री गर्दै पालिकाको अनुदान समेत पाएका थिए । खसी बिक्रीका लागि गाउँपालिकामा समूह, सहकारी सूचीकृत हुन सक्ने भए पनि यस वर्ष पाँच वटा सहकारी संस्था मात्रै सूचीकृत भएका थिए । गाउँपालिकाले पशु सेवा शाखामार्फत पशु स्वास्थ्य सेवा, पशु आहारा विकास कार्यक्रम, पशु प्रजनन सेवा, तालिम तथा पशु सेवा प्रसार कार्यक्रम, पकेट प्याकेज कार्यक्रम, व्यावसायिक फार्म प्रवर्द्धन कार्यक्रम, पशुपक्षी बजार प्रवर्द्धन र नियमनका कार्यक्रम सञ्चालन गरिएको थियो ।
कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिकाले सहकारी तथा समूहमार्फत एक सय किलो भन्दा बढी खसी बिक्री गर्ने किसानलाई प्रतिकिलो २० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । साथै व्यवस्थापनका लागि प्रतिकिलो एक रुपैयाँको दरले सहकारीलाई समेत रकम उपलब्ध गराउने गरेको छ । आर्थिक वर्ष २०७६-०७७ देखी नै गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको त्रिवेणी गाउँपालिकाकाले वडा नम्बर २ ४ र ५ लाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरेको छ ।