वालिङमा अफ्रिकन स्वाइन फिभरको आतंक: बङ्गुर फर्म र मासु पसल सील

स्याङ्जा । वालिङ नगरपालिका–८ स्थित एक बङ्गुर फर्म र मासु पसलमा अफ्रिकन स्वाइन फिभर (ASF) पुष्टि भएपछि स्थानीय किसान, व्यापारी र उपभोक्ताबीच त्रास फैलिएको छ। संक्रमण देखिएलगत्तै नगरपालिकाले १४० किलो संक्रमित मासु नष्ट गरेको छ भने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले निसंक्रमण अभियान सुरु गरेको छ।

संक्रमण वालिङका पदमबहादुर सोती मगरको मासु पसल र बङ्गुर फर्ममा देखिएको हो। प्रारम्भिक लक्षण देखिएपछि संकलित नमुना काठमाडौंको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा पठाउँदा पोजेटिभ पुष्टि भएको हो।

नगर उपप्रमुख कविता तिवारीका अनुसार यो रोग खोरमा पस्नेबित्तिकै फैलिन थाल्छ र सम्पूर्ण बङ्गुर मर्ने खतरा हुन्छ। त्यसैले ४० दिनसम्म संक्रमित खोर र पसलमा कुनै पनि पशुपालन प्रतिबन्ध लगाइएको छ। नगरपालिकाले पशु आयातमा कडाइ गर्ने र किसानलाई तालिम दिने तयारी गरेको छ।

भेटेरिनरी अस्पतालका प्रमुख डा. रुपेश श्रेष्ठका अनुसार, अफ्रिकन स्वाइन फिभरको अहिलेसम्म खोप वा औषधि छैन, त्यसैले नियन्त्रणका उपायमै भर पर्नुपर्छ। उनको अनुमान अनुसार यो संक्रमण पाल्पाबाट ल्याइएका बङ्गुरका बच्चाबाट फैलिएको हो।

जिल्लामा विगत तीन वर्षमा ASF का कारण एक हजारभन्दा बढी बङ्गुर मरेका छन्। धेरै किसान व्यवसाय बन्द गर्न बाध्य भएका छन् भने बाँकी पनि उच्च जोखिममा छन्। बजारमा बङ्गुर मासुको अभाव बढ्दै जाँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको छ, तर यही आयातले रोग पुनः भित्रिने खतरा पनि बढाएको छ।

किसानहरूले सरकारी निकायको कमजोर निगरानी, ढिलो सूचना प्रणाली र कानुन कार्यान्वयनको कमीलाई रोग फैलनुको मुख्य कारण मानेका छन्। ईन्द«ेणी बङ्गुर फर्मका सञ्चालक भिम लुइटेल भन्छन्, “कागजमा नियम कडा छन्, तर व्यवहारमा कार्यान्वयन हुँदैन। समस्या देखिएपछि मात्र चासो देखाइन्छ।”

यो रोग मानिसमा सर्दैन, तर संक्रमित मासु उपभोग गर्दा अप्रत्यक्ष आर्थिक तथा स्वास्थ्य असर पर्ने भएकाले उपभोक्तामाझ पनि त्रास छ। उपभोक्ताले सुरक्षित र परीक्षण गरिएको मासु मात्र पाउने वातावरण बनाउन सरकार, किसान र व्यापारी सबैको बराबरी जिम्मेवारी रहेको उपभोक्ता मञ्च स्याङजाका अध्यक्ष राजेन्द्र मरासिनीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *