बागलुङ । गाउँपालिकाको नेतृत्व गर्नु र खेतबारीमा पसिना बगाउनु — यी दुई कामलाई सँगसँगै अघि बढाएका छन् बागलुङ ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले। छ वर्षअघि परीक्षणका रूपमा सुरु गरेको सानो प्रयोग आज गाउँमा सफल व्यावसायिक स्याउखेतीको नमुना बनेको छ।
जुम्लाबाट ल्याइएका ‘रोयल रेड’ र ‘इटालिएन फुजी’ जातका बिरुवाले अहिले उनको चार रोपनी जमिनमा हरियाली फैलाएका छन्। शुरुवातमा १०० बिरुवा रोपेका रोकाले ८० मात्र जोगाउन सके। तर हार मानेनन्। समयसँगै बगान विस्तार गर्दै अहिले बिरुवाको संख्या १४० पुगेको छ, जसले यसै वर्ष करिब चार क्विन्टल स्याउ फलाएको छ।
“यो मेरो सपना मात्रै होइन, गाउँकै सम्भावना हो,” रोका भन्छन्, “छ वर्षमै देखिएको परिणामले म उत्साहित छु। अब १० रोपनीसम्म विस्तार गर्ने योजना छ।”
यस खेतीका लागि उनले करिब डेढ लाख रुपैयाँ लगानी गरेका छन्। विभिन्न निकायले अनुदानमा उपलब्ध गराएका बिरुवाले खर्च कम भएको उनले सुनाए।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालका अनुसार, सिंचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थान स्याउखेतीका लागि उपयुक्त हुन्छन्। बागलुङको ढोरपाटन र निसेलढोर क्षेत्रमा पनि स्याउखेती व्यावसायिक रूपमा फस्टाइरहेको छ। हाल जिल्लाभर ५६.९२ हेक्टर क्षेत्रमा स्याउखेती हुँदै आएको छ र बर्सेनि ३३१.२ मेट्रिक टन स्याउ उत्पादन हुन्छ।
अध्यक्ष रोकाको यो प्रयासले बागलुङका किसानलाई देखाइदिएको छ — नेतृत्व र मेहनतको सही संयोजनले, गाउँमै पनि सुनौलो भविष्य फलाउन सकिन्छ।