सुनसरी । बाजेपुर्खादेखि गाउँघरमा जीवित रहँदै आएको अर्मपर्म—एकअर्काको खेतीपातीमा आलोपालो सघाउने परम्परा—पछिल्ला वर्षहरूमा लोप हुँदै गएको छ। आधुनिक कृषि प्रविधिको विस्तार, युवा वैदेशिक रोजगारीतर्फको आकर्षण, र गाउँबाट शहरिने प्रवृत्तिले यो सामुदायिक सहयोग संस्कृतिलाई संकटमा पारेको हो।
वराहक्षेत्र–५, कालाबञ्जरका ७९ वर्षीय शेरबहादुर थापा भन्छन्, “अघिल्ला पुस्तामा रोपाइँदेखि बाली थन्काउनेसम्म सबै काम पर्म गरेर गर्थ्यौं, अहिले त पैसा दिएर पनि खेताला भेटिन्न।” उनका अनुसार, खेतमा बल लगाउने उमेरका अधिकांश युवा विदेशिएका छन्, बाँकी गाउँमै भए पनि अन्य पेसामा व्यस्त छन्।
अर्मपर्म केवल श्रम साट्ने माध्यम मात्र थिएन, यो गाउँमा भावनात्मक सम्बन्ध जोड्ने सेतु पनि थियो। रामधुनी–८ का हस्तबहादुर विष्ट भन्छन्, “युवापुस्तालाई त अर्मपर्म भनेको थाहा नहोला जस्तो भइसक्यो।”
यो परम्पराले समुदायमा एकता, सहयोग र आपसी भरोसा मजबुत बनाउँदै आएको थियो—कोदो रोप्नदेखि मकै गोड्न, बाँझो खन्नदेखि धान थन्काउनसम्म।
५६ वर्षीय डिबी राउतका अनुसार, खेतालाको अभावले अहिले गाउँमा रासायनिक विषादी र यान्त्रिक उपकरणमा निर्भरता बढेको छ। “पहिले धेरै जनाले एकै ठाउँमा काम गर्दा थकाई कम र रमाइलो बढी हुन्थ्यो,” उनी भन्छन्, “अर्मपर्ममा मेलो, खाजा, गीत र हाँसो मिसिएको हुन्थ्यो।”
डुम्राहाका सबुरलाल चौधरी सम्झन्छन्, “सानोमा पर्ममा जान पाउँदा ठूलो उत्सवजस्तो लाग्थ्यो।” उनका अनुसार, पर्मले केवल खेतीको काम सहज बनाउँथेन, यसले गाउँको एकता र आत्मीयतालाई पनि मजबुत बनाउँथ्यो।
आज गाउँमा अर्मपर्म हराउँदै गएको छ, अनि त्यससँगै हराउँदै छ गाउँको सामुदायिक आत्मा। प्रविधि र आधुनिक प्रणालीले कृषि कार्यलाई सहज बनाए पनि, परम्परागत पर्मेली संस्कृतिले दिएको सहकार्यको भावना र सामाजिक एकतालाई कुनै मेसिनले प्रतिस्थापन गर्न सक्दैन।