गुल्मीका किसान प्रेम नेपालीको सफल कृषि क्रान्ति

गुल्मी। “माटोमा पसिना बगाएर पनि मासिक तीन लाख कमाउन सकिन्छ”—यो कुनै कथा होइन, गुल्मी रेसुङ्गाका ४६ वर्षीय प्रेम नेपालीको जीवनको वास्तविकता हो। जातीय विभेदको पीडा भोग्दै पनि उनले हिम्मत हारेनन्, बरु माटोलाई अंगालेर सफल किसानको परिचय बनाएका छन्।

एक दशकदेखि कृषिमा समर्पित नेपाली अहिले आरएनपी एग्रो फार्म सञ्चालन गर्दैछन्। उनले १४० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती, धानखेती, माछापालन र बङ्गुरपालनलाई व्यावसायिक रूपमा अघि बढाएका छन्।

२६ वटा टनेल (प्लास्टिकका टहरा) मा गोपी, खर्बुजा, काँक्रा, घिरौंला, लौका, ब्रोकाउली, टमाटर, सिमी, बोडी लगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुन्छ। उनले दैनिक करिब तीन क्विन्टल तरकारी बिक्री गर्छन्। साथै स्ट्रबेरी र सयपत्री फूलबाट पनि आकर्षक आम्दानी भइरहेको छ।

गत वर्ष उनले छ सय रुपैयाँ प्रतिकिलो दरमा दुई क्विन्टल स्ट्रबेरी बिक्री गरेका थिए, र अहिले पाँच क्विन्टल उत्पादन गर्ने योजना बनाएका छन्। फार्ममा उत्पादित तरकारीका बाँकी अंश र पातहरू बङ्गुर र माछाको दानाका रूपमा प्रयोग हुन्छ।

उनको फार्ममा तीन पोखरीमा करिब छ हजार माछा, ५० रोपनीमा हाइब्रिड र जिटेन धान, १२० स्थानीय जातका कुखुरा, र तीन माउ बङ्गुर छन्। वर्षमा दुई पटक बङ्गुरका पाठा बिक्री गरेर करिब डेढ लाख रुपैयाँ आम्दानी हुन्छ।

गत वर्ष उनले १२० मुरी धान तम्घास, बुटवल र काठमाडौंसम्म बिक्री गरी करिब एक लाख २० हजार रुपैयाँ कमाएका थिए। उनका श्रीमती, छोरा र तीन जना श्रमिकले फार्ममा काम गर्छन्, भने मौसमी समयमा थप श्रमिक पनि भर्ना गरिन्छ।

कृषिमा लाग्नुअघि प्रेम नेपाली दूध व्यवसायी थिए। २०७२ सालतिर उनले १८ रोपनी जग्गा भाडामा लिएर गाईभैंसी पालन सुरु गरेका थिए। तर सहकारी र बजारमा जातीय भेदभावका कारण दुध बेच्न नपाएपछि, उनी निराश बने। “सहकारीले जात हेरेर दुध राख्न मानेन,” उनले दुःख पोखे, “त्यसपछि दुध बेच्न छोडें र तरकारीतिर लागें।”

आज उनी त्यही माटोमा सफलताको बीउ रोपेका छन्। कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भेटेरिनरी तथा पशु सेवा केन्द्र र रेसुङ्गा नगरपालिकाको सहयोगमा उनले आफ्नो सपनालाई व्यावसायिक स्वरूप दिएका छन्।

“किसानका आफ्नै पीडा हुन्छन्,” उनी भन्छन्, “तर माटोमा पसिना बगाए सफलता सम्भव रहेछ। अहिले मेरो मासिक आम्दनी तीन लाख रुपैयाँ छ।”

प्रेम नेपालीको कथा केबल एक जनाको संघर्ष मात्र होइन, माटोप्रति भरोसा राख्ने सम्पूर्ण मेहनती युवाको प्रेरणा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *