सुदूरपश्चिम प्रदेश सरकारद्वारा पाँच किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान

निराजन परियार

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट सुदूरपश्चिमका पाँच जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।

कृषि क्षेत्रमा सक्रिय उहाँहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कृषि मन्त्री वीरबहादुर थापाले धनगढीमा एक कार्यक्रमका बिच पुरस्कार प्रदान गर्नुभएको हो । मङ्गलबार मन्त्रालयमा आयोजना गरिएको समारोहमा विभिन्न जिल्लाबाट छनोट भएका पाँच जना किसानलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने कृषकहरूमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का केरा व्यवसायी किसान अर्जुन जेठारा सर्वोत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । जेठारालाई एक लाख ५० हजार राशिसहित प्रशंसा पत्र, माला तथा दोसल्ला ओढाएर पुरस्कृत गर्दै सम्मान गरेका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका–५ का मौरीपालक किसान किरणपाल भारती मौरीपालमा उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । भारतीलाई ७५ हजार रुपैयाँ राशिसहित प्रशंसा पत्र, माला तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

त्यस्तै डोटीको आदर्श गाउँपालिकाका मुकुन्द अवस्थी तरकारी खेति,अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का कुलबहादुर साउद बाख्रा पालन, र कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ की भैँसीपालक किसान सरस्वती पाण्डेलाई पनि पुरस्कृत गरिएको छ । उत्कृष्ट कृषकको पुरस्कार प्राप्त गरेको तीनै जनालाई ७५ हजार, प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । प्रदेश सरकारले पुरस्कृत गरेपछि थप हौसला मिलेको उहाँहरूको भनाइ छ।

सर्वोत्कृष्ट कृषक पुरस्कार बुुझ्दै केरा व्यवसायी अर्जुन जेठाराले जमिन राम्रो भएमा नेपालमा कृषि कार्य भन्दा उत्कृष्ट अर्को कुनै काम नभएको बताउनुभयो ।जेठाराले कैलाली र कञ्चनपुरमा करीब ४० बिघा जग्गामा केरा खेती गर्दै आएका छन् ।

भीमदत्त प्रदेश उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले किसान राम्रो गर्नु राज्यका लागि पनि प्रेरणाको विषय भएको उल्लेख गर्दै कृषिलाई सम्मानित पेसाको रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने पनि वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको भन्दै कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिकरूपमा समृद्ध नेपालको निर्माण गर्न सकिने बताउनुभयो ।

शिक्षित युवावर्ग तथा उच्च आय हुने परिवारले पनि अहिले कृषिलाई मुख्य पेसा बनाई यसैबाट लाखौ आम्दानी गरिरहेका उदाहरणहरू रहेका बताउनुभयो।

पुरस्कृत भएका जस्तै हजारौ सक्रिय कृषकहरूको योगदानले नेपाली कृषि व्यवसायलाई आत्मनिर्भर, उत्पादनमुखी र आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण मार्गनिर्देशन दिएको पनि मन्त्री थापाले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *