एमालेका किसान कार्यकर्ताद्वारा सरकारविरुद्ध सडक संघर्षको चेतावनी

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेमा आवद्ध किसानहरु सडक संघर्षको तयारीमा लागेका छन् । कृषि क्षेत्रको समस्या समाधानमा सरकार जिम्मेवार नभएको गुनासो गर्दै अखिल नेपाल किसान महासंघको अगुवाइमा उनीहरु आन्दोलनको तयारीमा जुटेका हुन् ।

आज विज्ञप्ति जारी गर्दै महासंघले किसानलाई बारम्बार झुक्याउने प्रवृत्तिविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ । सरकारले औपचारिकताका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने तर खरिद गर्ने व्यवस्था नगरी किसानलाई बारम्बार झुक्याएको महासंघको दाबी छ ।

आर्थिक वर्ष २०८१–८२ का लागि सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८६९ रुपैयाँ तोकेको थियो । समयमै धानको समर्थन मूल्य निर्धारण भएकाले किसान उत्साहित भएपनि एक हजार ६३५ रुपैयाँ प्रतिक्विन्टलमा बेच्नु परेको महासंघले जनाएको छ ।

‘निर्धारित समर्थन मूल्यमा धान बिक्री गर्दासमेत किसानलाई फाइदा हुने अवस्था छैन भने १६२५ रुपैयाँ प्रतिक्विन्टल धान बेच्नुपर्दा किसानको अवस्था के होला ? किसानले सरकारबाट जवाफ खोजिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

उत्पादित धान भण्डारण गर्ने पर्याप्त क्षमताका गोदाम किसानसँग नभएको र वर्षाको समयमा धान सुकाउनसमेत समस्या हुने भएकाले प्रत्येक वडामा ड्रायर मेसिनसहित भण्डारण गोदामको व्यवस्था गरिनुपर्ने माग महासंघको छ ।

त्यस्तै, धान किसानबाट खरिद गरेर भण्डारण र आवश्यकताअनुसार वितरणका निम्ति खाद्य व्यवस्था तथा व्यापार कम्पनी रहेपनि कुहाएर फ्याल्नुपर्ने अवस्थाप्रति महासंघले भनेको छ, ‘नेपाली जनताको करबाट सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुनुको औचित्यता के ? कृषि मन्त्रालयहरुको भूमिका के हो ? सरकार किसानप्रति कहिले जिम्मेवार र जवाहदेही हुने ? जस्ता प्रश्नले किसानलाई हतोत्साहित बनाएको छ ।’

उत्पादित खाद्यान्नलाई व्यवस्थापन गर्न नचाहने तर अर्बौको आयात गर्न तयार हुने कुराले सरकारको गैरजिम्मेवारीपन पुष्टि भएको महासंघको ठम्याई छ ।
महासंघले धान खरिदमा ढिलासुस्ती, बहानाबानी र निर्धारित मूल्य बराबरको सोधभर्ना भुक्तानी नदिएमा खडा कदम उठाउन बाध्य हुने चेतावनी दिँदै समयमै गम्भीर भएर दीर्घकालीन समाधान खोज्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *