इजरायलको सीपले झापाका चन्द्रबहादुरले देखाए व्यवसायिक केरा खेतीको नयाँ क्षितिज

झापा। नेपाललाई कृषिप्रधान मुलुक भनेर पढ्दै हुर्किएका झापा गाउँपालिका–३ का युवा चन्द्रबहादुर बस्नेतलाई “कृषिप्रधान” शब्दको वास्तविक अर्थ भने इजरायल पुगेर मात्र थाहा भयो। उनले बुझ्न पाए– कृषिप्रधान हुनुको मतलब केवल खेतीपातीमा निर्भर हुनु होइन, आत्मनिर्भर भएर देशलाई खाद्यान्न निर्यात गर्ने क्षमता राख्नु हो। यही बोधले उनको जीवनको दिशा बदलिदियो।

चार वर्षअघि साना किसान सहकारीमार्फत कृषि प्रशिक्षार्थीको रूपमा इजरायल पुगेका बस्नेतले जोर्डन भ्यालीको किन्नरेट एकाडेमीमा अध्ययन गर्दै इन्गेभ किबुज बनाना फार्ममा व्यावहारिक तालिम लिए। हप्ताको एक दिन कक्षामा सैद्धान्तिक ज्ञान, बाँकी दिन खेतमा प्रायोगिक सीप—विरुवा रोपाइँदेखि बच्चा सेलेक्शन, आवश्यक इन्जेक्सन लगाउनेसम्मका आधुनिक प्रविधि उनी त्यहीँ सिके।

नेपाल फर्किएलगत्तै बस्नेतले झापा गाउँपालिका–३ मा ३५ विगाहमा साधना संस्कृती नमुना कृषि फार्म दर्ता गरी व्यवसायिक केरा खेती सुरु गरे। आफ्नै दुई विगाह बाहेक बाँकी जमिन वार्षिक ४५ हजार रुपैयाँ भाडामा लिएर उनले २५ लाखको प्रारम्भिक लगानीबाट यात्रा थालेका हुन्। आज उनी महिनामा खर्च कटाएर करिब दुई लाख रुपैयाँ कमाइरहेका छन्, सात जना युवालाई स्थायी रोजगारी दिँदै।

बस्नेतको परिश्रमले गाउँको स्वरूपै बद्लिएको छ। उनको प्रेरणामा झापा गाउँपालिकाका १४ जना कृषक केरा खेतीतर्फ आकर्षित भएका छन्, केवल वडानम्बर ३ मै १०५ हेक्टरमा केरा लगाइएको छ। उनले निःशुल्क विरुवा र रोपाइँको ज्ञान उपलब्ध गराउँदा गाउँलेहरू आधुनिक खेतीतर्फ उन्मुख भएका छन्।

फार्ममा जी–नाइन, विलियम हाइब्रिड, मालभोग र रातो केरा जातका बिरुवा छन्, जसका फल काठमाडौँ र पोखरासम्म पुग्छन्। काठमाडौंको कम्पनीबाट ल्याइएको टिस्यू कल्चर प्रविधिबाट उत्पादित बिरुवाले उत्पादनको गुणस्तर पनि उच्च राखेको छ। नेपालमा केराको बोट ४–५ वर्ष टिक्ने भए पनि इजरायलमा १० वर्षसम्म आम्दानी दिने तथ्यले उनलाई अझ आत्मविश्वासी बनाएको छ।

केरा खेतीलाई व्यवसायिक रूपमा अगाडि बढाउन स्थानीय सरकार पनि सक्रिय छ। झापा गाउँपालिकाले गत वर्ष केरा पटेक क्षेत्र घोषणा गर्दै संकलन केन्द्र निर्माण गरेको छ। बालुवा घारीमा समेत केरा फलाउँदै बस्नेतले प्रमाणित गरेका छन्– लगनशीलता, धैर्यता र प्रविधि मिसाए कृषि नै आकर्षक रोजगारीको विकल्प बन्न सक्छ।

इजरायलको आधुनिक प्रविधि र आफ्नै माटोको माया मिसाएर चन्द्रबहादुर बस्नेतले देखाएको यो बाटो केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, नेपालको कृषि आत्मनिर्भरता र सम्भावनाको जीवन्त प्रमाण पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *