सर्लाही । सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरूप दिने अनुदानबापत करिब ७५ करोड रुपैयाँ रकम निकासा गरेको छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब दुई करोड १६ लाख क्विन्टल उखु बराबरको सो रकम किसानलाई पठाइएको हो ।
किसानलाई चिनी उद्योगले प्रतिक्विन्टल ५८५ रुपैयाँ र सरकारले ३५ रुपैयाँ अनुदान दिने व्यवस्था अनुसार सो रकम उपलब्ध गराइएको हो । सुनसरी, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, नवलपरासीलगायत जिल्लामा व्यावसायिक उखु खेती हुने गर्दछ । सर्लाहीका किसानले पनि प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान रकम प्राप्त गरेका छन् ।
सरकारले गएको वर्ष उखु क्रसिङ सिजन २०८१/८२ मा किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिने निर्णय गरे पनि अहिले रकम निकासा हुँदा भने ३५ रुपैयाँका दरले मात्र वितरण भएको छ । सर्लाहीका उखु किसानका लागि प्राप्त भएको करिब १८ करोड रुपैयाँ अनुदान रकम प्रत्येक किसानको खातामा पठाइसकिएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले जनाएको छ ।
प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईंका अनुसार उखु किसानलाई अनुदान दिन १८ करोड ७५ लाख ५० हजार ६९० रुपैयाँ निकासा भएको थियो । सर्लाहीका तीन वटा चिनी मिलले क्रसिङ गरेको उखुको विवरण अनुसार किसानलाई ३७ करोड रुपैयाँ अनुदान रकम आवश्यक भए पनि आधा मात्रै उपलब्ध भएको र त्यही वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।