कर्णाली । कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको छ। कर्णाली प्रदेशका साबिक कर्णालीका जिल्लामा स्याउको उत्पादन, बजारीकरणलाई बढाई स्याउबाटै समृद्धि हासिल गर्ने उद्देश्यले प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको हो। चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममै प्रदेश सरकारले बोर्ड गठन गर्ने जनाएको थियो।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी माघदेखि सञ्चालन हुने प्रदेश सभाको हिउँदे अधिवेशनमा पेस गर्ने गरी बोर्डको विधेयकको मसौदा तयार भइरहेको जनाएको छ । कृषिमन्त्री विनोदकुमार शाहले स्याउ विकास बोर्डको विधेयकको मसौदाको काम भइरहेको बताउनुभयो । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिको बैठकमा बोर्डबारे जानकारी गराउँदै उहाँले आगामी हिउँदे अधिवेशनमा पेस गर्ने गरी स्याउ विकास बोर्ड गठनको विधेयकको मसौदाको काम भइरहेको जनाउनुभयो ।
मन्त्री शाहले साबिक कर्णालीको जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा बढी मात्रामा स्याउ उत्पादन गर्ने र त्यसको बजारीकरणसमेत गरी स्याउबाट समृद्धि खोज्ने अभियानस्वरूप स्याउ विकास बोर्ड गठन गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो।
उहाँले जुम्लाका आठ वटै पालिकामा स्याउ खेती हुने र अन्य जिल्लालाई पनि पायक पर्ने भएकाले जुम्लामा बोर्डको कार्यालय स्थापना गरिने उल्लेख गर्नुभयो । यसै गरी कर्णालीमा स्याउ खेतीलाई प्रवर्धन गर्नका लागि प्रदेश सरकारले स्याउ बगैँचा घेरबारमा पनि कृषकलाई सहयोग गर्ने उहाँको भनाइ छ । कर्णालीमा तीन हजार ८० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुने भए पनि हाल दुई हजारभन्दा बढी हेक्टरमा स्याउ खेती हुँदै आएको गोरखापत्र अनलाइनमा खबर छ ।
