काठमाडौं । लामो समयदेखि मलको अभावमा चिन्तित किसानका लागि राहतको खबर आएको छ । साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले भारतको कोलकत्ता बन्दरगाहमा भित्र्याएको १५ लाख २३ हजार बोरा रासायनिक मल धमाधम नेपालतर्फ ल्याउने कार्य सुरु भएको जनाएको छ ।
कर्पाेरेशनले हालै ४ लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डिएपी गरी कुल १५ लाख २३ हजार बोरा मल आयात गरिसकेको हो । नेपालस्थित गोदाममा आइरहेको यो मल प्रदेश सरकारमार्फत पालिकामा कोटा अनुसार वितरण गर्ने तयारी भइरहेको कर्पाेरेसनले जनाएको छ ।
शुक्रबार जारी विज्ञप्तिमा कर्पाेरेसनले मल अभावका कारण किसान चिन्तित भएको तथ्य स्विकार्दै दर्ता भएका सम्पूर्ण डिलरलाई सम्बन्धित पालिका तथा कर्पाेरेसन कार्यालयसँग समन्वय गरी तोकिएको कोटाअनुसार किसानलाई मल वितरण गर्न आग्रह गरेको छ ।
हाल बजारमा मल नपाएको गुनासो व्यापक बनेको बेला आयात भइरहेको यो ठूलो मात्राको मलले किसानलाई धान रोपाइँदेखि गहुँबालीसम्म समयमै मल आपूर्ति हुने विश्वास दिलाएको छ ।