दाङमा स्ट्रबेरी खेतीबाट किसान खड्काको वार्षिक लाखौँ आम्दानी

दाङ । दाङमा व्यवसायिक रूपमा गरिएको स्ट्रबेरी (भुइँऐसेलु) खेतीले किसानलाई राम्रो आम्दानी दिन थालेको छ। विगत चार वर्षदेखि निरन्तर रूपमा स्ट्रबेरी खेती गर्दै आएका किसान वीरेन्द्र खड्काले यस वर्ष पनि खेतीलाई विस्तार गर्दै उत्पादनको तयारीमा जुटेका छन्।

हाल बोटमा फूल फुलिसकेको र अधिकांशमा फल लाग्न सुरु भइसकेको खड्काले जानकारी दिए। “अब ८ देखि १० दिनभित्र स्ट्रबेरी खान योग्य हुन्छ,” उनले भने ।

रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरामा स्वर्गद्वारी आश्रमको एक बिघा जग्गा लिजमा लिएर ‘एग्रोमार्ट फर्म’ दर्ता गरी व्यवसायिक खेती गर्दै आएका हुन् ।

गत वर्ष करिब २५ लाख रुपैयाँ बराबरको कारोबार भएको बताउँदै उनले यस वर्ष अझ राम्रो आम्दानी हुने अपेक्षा व्यक्त गरे । हाल स्ट्रबेरी प्रतिकिलो ८ सय रुपैयाँका दरले बिक्री हुँदै आएको छ। “धेरैजसो खुद्रा बिक्री बारीबाटै हुन्छ, केही मात्रामा होलसेल बजारमा पठाउँछौँ,” उनले भने। बारीमै बिक्री हुने भएकाले बजार व्यवस्थापन र काम गर्न सहज भएको उनको भनाइ छ।

स्वादिलो र पौष्टिक गुणले भरिपूर्ण भएकाले स्ट्रबेरी उपभोक्ताको रोजाइमा पर्ने गरेको खड्काले बताए। बिरुवा खरिद, थोपा सिँचाइ प्रणाली र मल्चिङ प्रविधि अपनाउँदा सुरुवाती लगानी आठ लाख रुपैयाँभन्दा बढी लागेको उनले जानकारी दिए । असोजको अन्त्य र कात्तिकको पहिलो सातामा रोपिएका बिरुवाले अहिले उत्पादन दिन थालेका छन्।

बिरुवा रोपेको दुईदेखि तीन महिनाभित्रै स्ट्रबेरीले फल दिने गर्दछ। दाङको हावापानी र माटो स्ट्रबेरी खेतीका लागि उपयुक्त भएकाले उत्पादन सफल भएको खड्काको अनुभव छ। यहाँ उत्पादन भएको स्ट्रबेरी घोराही, तुलसीपुर, लमहीसहित नेपालगन्ज, सुर्खेत र बुटवलसम्म पठाइने गरेको उनले बताए ।

स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि खड्काले दाङको तुलसीपुरमा पाँच कठ्ठा र आफ्नै गृहजिल्ला रोल्पामा आठ रोपनी जग्गामा समेत व्यवसायिक रूपमा स्ट्रबेरी खेती विस्तार गरेका छन्। दाङमा स्ट्रबेरी खेती किसानका लागि नयाँ सम्भावनाको रूपमा स्थापित हुँदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *